राष्ट्रपति भण्डारीद्वारा ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ ।

सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीलाई मन्दिरका विषयमा मन्दिर प्रमुख चेन किङले जानकारी दिएका थिए ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याउनुभएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।

मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए । रासस