थपलियाकाे बोटदेखि ओठसम्म अभियान

थपलियालाई बजारमा टिकाइराख्न कोल्डस्टोरले पनि ठूलो सहयोग गरेको छ । उनले अन्य किसानबाट किनेका तरकारी पनि कोल्डस्टोरमा राख्छन् । आफ्नो उत्पादनले एक महिना पनि कोल्डस्टोर चलाउन पुग्दैन । काठमाडौं वरिपरि उत्पादित तरकारी सङ्कलन र बजारीकरण गरिरहेका छन्, उनले ।

कृषिप्रधान मुलुकमा सबैभन्दा चुनौतीको व्यवसाय आखिर कृषि नै त हो । जग्गा भए पनि कृषिमा आधुनिकीकरण नहुनु, बजारसम्म किसानको पहुँच नपुग्नु र कृषिमा कर्पाेरेट लगानी नहुनुले पनि यो क्षेत्र त्यति फस्टाएको छैन । व्यापार गर्नेले प्रतिफल खोज्छन् नै । तर जोखिम पनि उनीहरुले नै लिन्छन् । एउटा व्यवसायमा जमेपछि कृषिमा पनि केही गर्ने हुटहुटी व्यवसायीहरुमा बढ्दै गएको छ । त्यस्तै हुटहुटी पर्यटन व्यवसायी गोविन्द थपलियामा पनि छ ।

नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षकको जागिर छाडेर पर्यटन र म्यानपावर व्यवसायमा लागेका थपलियाको परिचय पछिल्लो पटक कृषिमा पनि जोडिएको छ । कृषिमा बिचौलियाको रजगजले किसान र उपभोक्ता दुवै हैरान छन् । किसानले उत्पादन गरेका हरेक वस्तुको ‘किसानले पाउने मूल्य’ बिचौलियाले तोक्छन् । र उपभोक्ताले तिर्ने मूल्य पनि उनीहरु नै निर्धारण गर्छन् । यस्तो अवस्थामा थपलियाले नयाँ अवधारणासहित कृषि फार्म सञ्चालन गरेका छन् ।

बढ्दो उत्पादन लागत, किसानको बजार पहुँचमा कमी, ऋण पाउन कठिन, बिचौलियाको रजगजलगायत कारण कृषि क्षेत्रमा कर्म गर्ने जनशक्ति घटिरहेका बेला थपलियाले काभ्रेमा ९० रोपनी जग्गामा व्यावसायिक तरकारी खेतीसँगै कुखुरा, गाई, भैंसीपालन व्यवसायलाई अघि बढेका छन् । ‘बोटदेखि ओठ’सम्म अभियान चलाएर उनले उत्पादनदेखि बिक्रीवितरणसम्मको व्यवस्थापन आफैं गर्दै आएका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखालमा थपलियाको फार्ममा १२ महिना नै हरियो सागपात, तरकारीदेखि लिएर अन्य उपज उत्पादन हुन्छ । फार्ममा २० जनाले काम गरिरहेका भेटिन्छन् । पाँचखालको तरकारी सीधै काठमाडौं आइपुग्छ । काठमाडौंमा थपलियाले कोल्डस्टोर सञ्चालन गरेका छन् । तर, कोल्डस्टोरमा धेरै दिन तरकारी राख्नैपर्दैन । थपलियाले उत्पादन गरेका तरकारी काठमाडौंका ठूला ५० होटल र अरु ५० रेस्टुरेन्टमा पुग्छ । केही ठूला व्यवसायीले पनि घरमै उनको फार्मको तरकारी अर्डर गर्न थालिसकेका छन् ।

‘किसानको बजारसँग सहज पहुँच नभएकै कारण धेरै कृषक यो क्षेत्रबाट पलायन भएका रहेछन्,’ थपलिया भन्छन्, ‘उत्पादन गरेको सामान सस्तो मूल्यमा बिचौलियाले उठाउँछन्, त्यहाँबाट आएको पैसाले उत्पादन लागतसमेत उठ्दैन रहेछ, अनि कसरी किसान यो क्षेत्रमा टिकिरहन्छन् ।’
बजारदेखि किसानको बारीसम्म बिचौलियाको ‘बिगबिगी’ देखेपछि थपलियाले सबैभन्दा पहिला काठमाडौंको चाबहिलमा ‘कोल्डस्टोर’ बनाए, जहाँ आफूले उत्पादन गरेको तरकारी स्टोर गर्न सकियोस् । एकातिर कोल्डस्टोर बन्दै थियो भने, तरकारी खेतीका लागि पाँचखालमा जग्गा छनोटको कामलाई पनि अघि बढाए ।

‘मेरो सोच नै ‘बोटदेखि ओठसम्म’ पु¥याउने थियो,’ उनी भन्छन्, ‘त्यसका लागि दुईओटै काम एकसाथ अघि बढाएँ । मैले आफ्नो उत्पादनलाई बजारसँग आफैंले लिङ्क गर्न नसकेको भए म पनि यो क्षेत्रबाट पलायन भइसक्थें । मैले जसरी उत्पादनतिर ध्यान दिएँ, त्यसैगरी बजारीकरणमा पनि लागें । त्यही भएर यो क्षेत्रबाट पलायन हुनबाट जोगिएँ ।’ सबै किसानले कोल्डस्टोर बनाएर आफ्नो उत्पादनलाई बजारसँग जोड्न सक्दैनन् । उनीहरु कसै न कसैसँग भर पर्नुपर्छ । त्यो उनीहरुकोे बाध्यता हो । त्यही भएर यो क्षेत्र दिगो हुन नसकेको हो ।’

कृषिक्षेत्र एकदमै खर्चिलो छ । थपलियाले अहिलेसम्म ६ करोडभन्दा बढी लगानी गरिसकेका छन् । जति लगानी भएको छ, त्यसअनुसारको रिटर्न एकदमै कम हुन्छ । चार वर्षदेखि उनले उक्त फर्ममाथि निरन्तर लगानी मात्रै गरिरहेका छन् । तर यो वर्षबाट त्यहीँको आम्दानीले खर्च पुगेको छ । लागत बढी भए पनि त्यसअनुसारको प्रतिफल नहुँदा यो क्षेत्र खुम्चिँदै गएको हो ।

थपलियालाई बजारमा टिकाइराख्न कोल्डस्टोरले पनि ठूलो सहयोग गरेको छ । उनले अन्य किसानबाट किनेका तरकारी पनि कोल्डस्टोरमा राख्छन् । आफ्नो उत्पादनले एक महिना पनि कोल्डस्टोर चलाउन पुग्दैन । काठमाडौं वरिपरि उत्पादित तरकारी सङ्कलन र बजारीकरण गरिरहेका छन्, उनले ।
किसानले जति मूल्यमा बेच्न सक्छन्, बेच्छन्, बाँकी रहेको तरकारी प्रतिकिलो ५० पैसादेखि एक रुपैयाँ सस्तोमा खरिद गर्ने र त्यहाँबाट बजारमा पठाउँछन् । काभ्रेको पाँचखालमा सिजनेबल तरकारी (गोलभेंडा, काउली, बन्दा, हरियो साग र आलु) लगाएका छन् । त्यति मात्रै होइन, निकट भविष्यमै बङ्गुर पनि पाल्ने उनको तयारी छ ।

कुखुरापालन, बङ्गुरपालन र तरकारी खेतीलाई एकसाथ अघि बढाउने उनको सोच छ । गाई र भैंसी पाल्न पनि सुरु गरिसकेका छन् । भन्छन्, ‘हरेक चिज एकअर्कासँग लिङ्क गर्दै लैजान्छु ।’ नेपालमा ठूलो परिमाणमा मासु बाहिरबाट आउने गरेको छ । यसबाट के प्रस्ट हुन्छ भने, नेपालमा मासुको माग बढी छ । फेरि फार्ममा पालेका कुखुरा प्राविधिक कारणले मरे भने तिनलाई सुँगुरको दानाका रुपमा प्रयोग गर्न मिल्छ । यी एकअर्कासँग अन्योन्याश्रित छन् ।
थपलियाले आफ्नो कृषि, कुखुरा तथा बङ्गुर फार्म रेखदेख गर्न एक जना प्राविधिक राखेका छन् । त्यसैगरी उनले दैनिक रुपमा २० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा काम गर्ने मानिस पाउनै गाह्रो छ । बल्लबल्ल पाइहाल्यो भने पनि टिकाउन गाह्रो छ । अन्य क्षेत्रमा काम गर्ने मानिसले पाउने सेवासुविधा दिँदा पनि यो क्षेत्रमा काम गर्ने मानिस पाउन सकिएन ।’

व्यावसायिक कृषिका लागि नीतिगत, प्रविधिलगायतका समस्या रहेको उनको भनाइ छ । प्रक्रियागत जटिलता छन् । एउटा व्यवसाय स्थापना गर्ने गरी सहयोग लिन ८–१० ओटा निकाय धाउनुपर्छ । समयमै काम हुँदैन, मन्त्रालय धाउनुपर्ने बाध्यता छ, भनेको समयमा केही काम हुँदैन । युवामा धैर्य कम हुन्छ । चर्को ब्याजदरमा ऋण लिन्छन् । अपेक्षित फाइदा नहुँदा निराश बन्छन् । अहिले कृषि क्षेत्रमा भएको मुख्य समस्या हो यो । किसानले बजारको समस्या पनि झेल्नुपर्छ । बिचौलियाबाट किसान निचोरिएका छन् । ‘दुख गरेर किसानले उत्पादन गरेको तरकारीको मूल्य बिचौलियाले तोक्छन्,’ उनी भन्छन्, ‘यो समस्या अन्त्य भए कृषिमा आकर्षण ह्वात्तै बढ्छ ।’

थपलियाले अबको अभियान ‘तपाईंको आफ्नै फार्म’ सुरु गर्दै छन् । एउटा परिवारलाई निश्चित शुल्क लिएर उनीहरुको रोजाइमै तरकारी उत्पादन गर्ने र उनीहरुकै अर्डरअनुसार वर्षभर पुर्याउने थपलियाको योजना छ । ‘तरकारी फार्ममा सीसीटीभी राखेर त्यो बारीमा फलेको तरकारी आफ्नै घरमा बसेर हेर्ने प्रविधिसहित हामी आउँदै छौं,’ उनले भने । बिदाको दिन तरकारी फार्ममै पुगेर आफैंले टिपेर पनि ल्याउन सकिने उनले बताए ।

क्यापिटल बिजनेस म्यागजिनबाट