सगरमाथाको फोहोर उठाउन २ करोड २६ लाख संकलन

सगरमाथा सफाई अभियान २०७६ नाम दिएर वैशाख १ गतेबाट सुरु गरिएको सफाइलाई सहयोग गर्न विभिन्न निकायले सो रकम सहयोग गरेका हुन् ।

काठमाडौं । सगरमाथाको सरसरफाइको लागि २ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । सगरमाथा सफाई अभियान २०७६ नाम दिएर वैशाख १ गतेबाट सुरु गरिएको सफाइलाई सहयोग गर्न विभिन्न निकायले सो रकम सहयोग गरेका हुन् ।

सूचना प्रवाह समितिका संयोजक एवंम पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले सगरमाथा सफाइको लागि वन तथा वातावरण मन्त्रालयले ५० लाख, कोकाकोलाले ५० लाख, खुम्बु गाउँपालिकाले ३० लाख, नेपाल पर्यटन बोर्डले ३० लाख, प्रदेश नम्बर १ ले २५ लाख, राष्ट्रिय प्रकृती कोषले २० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, एनएमबी बैङ्कले १० लाख, भ्रमण वर्ष २०२० ले १० लाख, नविल बैङ्कले ५ लाख, प्रभु बैङ्कले ५ लाख, तारा एयरले ५ लाख र पर्यटन विभागले २ लाख रुपैयाँ आर्थिक सयोग गरेको जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा लुक्लाबाट सरफाइ सुरु भएको छ । सगरमाथाबाट संकलित फोहोरलाई जेठ १५ गते सगरमाथा दिवसको अवसरमा नाम्चेमा प्रर्दशनी गरी समापन गरिने जनाएको छ ।

४५ दिनसम्म सफाइ गर्न १२ जना मानिसहरु खटिएका छन् । सगरमाथा सफाइको लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

उद्धारमा रेस्क्यू टोली र हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको जनाएको छ । ८ जना शेर्पाहरुले क्याम्प दुईमा बसेर ३ जनाको टोली तलमाथी गरी पालैपालो साउथकोलसम्म पुगेर फोहोर संकलन गर्ने छन् ।

साउथकोलमा पुग्ने टोली ५ दिनसम्म साउथकोलमा बस्ने र सफाई टोली अन्तिम समयसम्म बसेर यो वर्षको सम्पूर्ण फोहर सफाइ गर्ने तयारी छ । तस्बिरः नाजिया श्रेष्ठ