सेयर बजारमा बिमा र बैङ्किङबीचको दुस्मनी, नेपाल बैङ्कमा झुम्मिए लगानीकर्ता

पछिल्लो पटक हरेक दिन नयाँ उचाइ कायम गरिरहेको नेप्से आइतबार पनि कारोबारको सुरुआतदेखि नै वृद्धिको चरणमा थियो । कारोबार सुरु भएको आधा घण्टामा १३१४ अङ्कमा पुगेको नेप्से सवा १२ बजे १३०३ अङ्कमा झरेको थियो । तर, फेरि बढ्न थालेको नेप्से १३२२.८६ अङ्कसम्म पुगे पनि पछि विस्तारै घट्दै आएको र अन्तिम समयमा फेरि सुधार हुँदै कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा बिमा कम्पनीहरुको मूल्यमा भएको वृद्धिले नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) पनि उच्च गतिमा बढेको छ । यद्यपि बैङ्किङ उपसूचक भने घटेको छ । यसले बिमा कम्पनीको सेयर र बैङ्कहरुको सेयर मूल्यमा एक प्रकारले दुस्मनीजस्तो देखिएको छ । बिमा कम्पनीको सेयर उछाल देखिँदा बैङ्कहरुको सेयरमा भने गिरावट आएको छ ।

जीवन बिमा उपसूचक ६२९.३८ अङ्क र निर्जीवन बिमा उपसूचक ४६२.७९ अङ्कले बढेपछि नेप्से पनि २२.३९ अङ्कले बढेर १३१४.५१ अङ्कमा पुगेको छ । वर्ष २०७६ लागेसँगै निरन्तर बढेको बजारले यो साताको पहिलो दिन आइतबार पनि १.७३ प्रतिशतले बढेको हो । पछिल्लो पटक हरेक दिन नयाँ उचाइ कायम गरिरहेको नेप्से आइतबार पनि कारोबारको सुरुआतदेखि नै वृद्धिको चरणमा थियो । कारोबार सुरु भएको आधा घण्टामा १३१४ अङ्कमा पुगेको नेप्से सवा १२ बजे १३०३ अङ्कमा झरेको थियो । तर, फेरि बढ्न थालेको नेप्से १३२२.८६ अङ्कसम्म पुगे पनि पछि विस्तारै घट्दै आएको र अन्तिम समयमा फेरि सुधार हुँदै कारोबार बन्द भएको छ । जीवन तथा निर्जीवन उपसूचकबाहेक अन्य उपसूचक सामान्य रुपले बढे पनि बैङ्किङ उपसूचक ९.०२ अङ्क र वित्त उपसमूह ०.६८ अङ्कले घटेको छ ।

आइतबार बैङ्किङ समूहमा गिरावट आए पनि कारोबार रकममा भने नेपाल बैङ्कको सेयरमा उछाल आएको छ । आइतबार नेपाल बैङ्कको ७ लाख १५ हजार ५ सय ३८ कित्ता सेयर किनबेच भई २३ करोड १९ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाको पनि ९ करोड २६ लाख ८३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आइतबार एक प्रकारले भन्ने हो भने कारोबार रकममा उछाल देखिएको छ । १६ हजार ७५ कारोबारबाट ४९ लाख २१ हजार ८४ कित्ता सेयर खरिद बिक्री भई एक अर्ब ६७ करोड ५९ लाख ३९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी), एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था तथा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.९९ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ९.९६ प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा ९.०४ प्रतिशतले वृद्धि भएको छ ।

बिमा र लघुवित्त कम्पनीहरुले बजारमा उत्साह भरेका बेला वाणिज्य बैङ्कको सेयरमा भने निराशा भरिएको छ । सनराइज बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ४.०४ प्रतिशतले घटेको छ ।