गुलाबले सिँगारिएको घतान गाउँ

बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा फक्रिएका राता गुलाबमा जो कोहीको आँखा पुग्छ । घरअगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यसमेत बढाइरहेको छ ।

म्याग्दी । बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ ।

बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा फक्रिएका राता गुलाबमा जो कोहीको आँखा पुग्छ । घरअगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यसमेत बढाइरहेको छ ।

घतान गाउँका झण्डै ८० प्रतिशत घरमा गुलाब रोपिएको वडा महिला सञ्जालकी अध्यक्ष रश्मि बानियाँले जानकारी दिइन् । ‘गुलाबको फूल अधिकांशले मन पराउने फूल हो । गाउँमा गुलाब असाध्यै राम्रोसँग फुल्छ । घरको शोभा पनि यस फूलबाट देखिने हुँदा अधिकांशका घरमा गुलाब रोपिएको छ’, बानियाँले भनिन्,’यति बेला गुलाब फक्रने समय, गाउँ नै उज्यालो भएको छ ।’ यसको महत्त्व उजागर भयो भने सो गाउँमा व्यावसायिक गुलाब खेती गर्न सकिने उनको भनाइ छ ।

गाउँको केही माथितिर भने लालीगुराँसको दृश्यले लोभ्याउने बानियाँले बताइन् । गुलाब सेतो, पहेँलो रङका पनि पाइन्छन् तर प्रणय दिवसमा रातो गुलाब नै आदानप्रदान गरिन्छ । कालो गुलाब प्रेमको अन्त्य मानिन्छ ।

भारतको जयपुरका घरहरु पिन्क(गुलाबी रङका) हुन्छन् । घतान गाउँले पनि गुलाबको पहिचान दिएकामा घतानीहरु खुशी देखिन्छन् । घतान ऐतिहासिक धार्मिक एव पर्यटकीयस्थलले समेत परिचित छ । रघुगङ्गा र कालीगण्डकी सङ्गममा रहेको नौ रोपनी क्षेत्रफलको चक्रशिलामा अवस्थित गलेश्वर धाम विश्वकै अलौकिक शक्तिका रुपमा मानिन्छ ।

यसै ठाउँमा पुलस्त्य ऋषिको आश्रम रहेकाले पनि यो गाउँ धार्मिक रुपमा पनि उत्तिकै परिचित छ । गाउँमा आउनेहरुले गाडी रोकेर फूलसँग तस्वीर लिने गरेको इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष स्थानीयवासी शान्ति रोकाले बताइन् ।

‘बाटो हिँड्ने सबैले मन पराउँछन् गुलाब, फोटो खिंचेर जान्छन्’, उनले भनिन् । धौलागिरि बेस क्याम्प जाने पदमार्ग समेत उक्त गाउँ हुँदै जान्छ । धौलागिरि, माछापुच्छ्रे, नीलगिरि र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्यसमेत उक्त गाउँबाट देख्न सकिने उनको भनाइ छ ।

घतानमा झण्डै ९ सय घरधुरी छन् । कुल जनसङ्ख्या चार हजार ८१० रहेकामा महिलाको सङ्ख्या २ हजार २९५ तथा पुरुषको सङ्ख्या १ हजार ८९४ छ ।

आकर्षक गुलाबको फूलसँगै उक्त स्थान कृषिका लागि पनि उत्तिकै प्रसिद्ध मानिन्छ । यहाँ केराउ, टिमुर, सिमी र मुला, बन्दा, काउली, प्याज, लसुन र गोलभेंडाको राम्रो उत्पादन हुने गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए । घतानबासीले सिस्नोको धूलो उत्पादन गरेर आयआर्जनसमेत गर्दै आएका छन् ।

धान, मकै, कोदो र गहुँको अन्नबाली, फलफूलमा सुन्तला, क्यूबी र केरा तथा नगदेबाली अलैँचीको पनि राम्रो उत्पादन हुने गरेको वडाध्यक्ष चोखाल बताउछन् । उक्त गाउँका झण्डै ८५ प्रतिशत मानिस कृषिमा निर्भर छन् । अन्य मानिस वैदेशिक रोजगार अन्य पेशा व्यवसायमा आबद्ध छन् ।

‘मुक्तिनाथ प्रवेशद्वार गलेश्वर धाम, पुलाश्रम हुँदै घतान, पुलाकोट, ढोलथान, जगन्नाथ, टोड्के र बेनी–गुफा मन्दिर, कपिल आश्रम, पुलाश्रमलगायतको मार्गलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएका छौँ’, गाउँको प्रवर्द्धनका लागि गुरुयोजना तयार गरिरहेका चोखालले भने ।