फेक रेस्क्युको प्रभाव : गत वर्षभन्दा यस वर्ष २० प्रतिशतले हवाई यात्रु घटे

सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढ्नु पर्नेमा यस वर्ष गत वर्षभन्दा करिब २० प्रतिशले हवाई यात्रु घटेको व्यवसायी एवम् अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले बताए ।

काठमाडौं । पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर हवाई उद्धारका नाममा ठगी गरेको भन्दै गत वर्ष तीन हेलिकप्टर कम्पनीलाई कारबाहीको सिफारिस गरेसँगै त्यसको प्रत्यक्ष असर यस वर्ष परेको छ ।

सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढ्नु पर्नेमा यस वर्ष गत वर्षभन्दा करिब २० प्रतिशले हवाई यात्रु घटेको व्यवसायी एवम् अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले बताए ।

उनले सरकारले दोष मात्र देखाएको र घटनालाई टुङ्गोमा नपु¥याई बीचमै छोड्दा अन्तर्राष्ट्रियरुपमा नेपालको बदनाम भएको बताए । दोषी देखिएका लाई तत्काल कारबाही गरेर अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय असफल भएको उनको आरोप छ ।

‘फेक रेस्क्यु छानबिन गर्न बनाइएको समितिले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नहुनु र दोषी देखिएकालाई कारबाही नगर्नु सरकारको सबैभन्दा ठूलो कमजोरीको प्रभाव यस वर्ष हवाई क्षेत्रमा परेको,’ छ उनले भने ।

नेपाल आउन चाहने पर्यटकले बिमा गर्दा प्रिमियम धेरै लाग्ने र गर्न पनि नचाहने भएका कारण समस्या भएको शेर्पाको भनाइ छ । उनले अहिले नेपाल आएर हेलिकप्टर चढ्दा पनि कतै फेक हो कि भन्ने त्रास उनीहरुमा पर्न थालेको बताए ।

कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले पनि गत वर्षभन्दा यस वर्ष हेलिकप्टरका यात्रु घटेको बताए । पर्यटक आगमनको मुख्य सिजनमै हेलिकप्टर चढ्ने यात्रु कम भएको उनको भनाइ छ । हेलिकप्टरमा यात्रु घटनुको कारण फेक रेस्क्युसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतले पनि हुन सक्ने पाण्डेको तर्क छ ।

यसैबीच हेलिकप्टर सोसाइटी अफ नेपालले माघ १४ गते पत्रकार सम्मेलन गरी फेक रेस्क्युमा हेलिकप्टर कम्पनीको संलग्नता नरहेको जनाएको थियो । सोसाइटीले फेक रेस्क्युमा बिमा कम्पनी बढी सहभागी भएको बताउँदै आफूहरुलाई अनावश्यक रुपमा आरोप लगाइएको स्पष्टीकरण दिएको थियो । सोसाइटीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हेलिकप्टरले फेक रेस्क्यु नभई सर्च एन्ड रेस्क्यु गरिरहेका कारण कम्पनीलाई आरोप लगाउनु निराधार भएको बताएका थिए ।

यता पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले बनाएको कार्यविधिअनुसार रेस्क्यु गर्दा कुनै समस्या नहुने बताए । यस विषयमा मन्त्रालयमा छलफल भइरहेको भन्दै फेक रेस्क्युकै कारण पर्यटक घट्न नहुने भन्दै त्यससम्बन्धमा छलफल अगाडि बढाउने जानकारी दिए ।

यी समाचार पनि हेर्नुहाेस्ः

फेक रेस्क्यु प्रकरण : किन भएन दोषीलाई कारबाही ?

फेक रेस्क्यू प्रभाव : खुम्बु क्षेत्रमा पर्यटक घटे