साढे ६ घण्टामा नेपाल एयरलाइन्सबाटै ओसाका, असार १९ बाट नियमित उडान

काठमाडौं । लामो समयको प्रयास पछि नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान गर्ने पक्का भएको छ । निगमले असार १९ गतेबाट साताको तीन दिन उडान गर्ने भएको हो ।

६ घण्टा ३० मिनेटमा काठमाडौंबाट जापानको ओसाकामा पुग्न सकिन्छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ओसाकामा उडान भर्ने जानकारी दिँदै नेपाल वायुसेवा निगमको ६१ औं वर्ष प्रवेशको पहिलो सफलता भएको बताएका छन् ।

निगमले निर्धारण गरेको उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मङ्गलबार, बिहीबार र शनिवार हुनेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने छ । ओसाकाको सबै उडानहरु वाइडवडी ए३३०–२०० बाट हुने जनाएको छ ।

दोस्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई प्रक्रिया अगाडि बढाइएको जनाएको छ । टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको छ । विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो । बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइडवडी विमानबाट सिधा उडान गरिने छ ।

यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सवभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए ।

ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भएको थियो । निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने विश्वास कार्यकारी अध्यक्ष खरेलको रहेको छ ।