नीति तथा कार्यक्रम : पर्यटन क्षेत्रमा आशा पलायो

काठमाडौं । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रमा नयाँ आशा ल्याएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
‘पर्यटन क्षेत्रको विकासले नै देशको आर्थिक समृद्धि सम्भव छ’ भन्ने नाराका साथ देश अगाडी बढिरहेका बेला सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको हो ।

होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सके पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हुने बताए । सरकारले पूर्वाधार निर्माण गरिदिएमा निजी क्षेत्रले त्यसलाई साथ दिने बताउँदै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

कैलाश हेलिकप्टरका सञ्चालक एवंम उद्योगी प्रतापजङ्ग पाण्डेले पर्यटनको पूर्वाधार विकासमा जोड दिएको प्रति स्वागत गरेका छन् । उनले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउने विमानस्थलहरुको काम तीब्र गतिमा अगाडी बढाउने सरकारको प्रतिबद्धता प्रशंसायोग्य भएको बताए ।

यस्तै आकस्मिक रुपमा अवतरणका लागि राजमार्गको स्तरउन्नती गराउने विषय नयाँ भएकोले यसलाई विशेष जोडका साथ अगाडी बढाउन आवश्यको रहेको उनको भनाइ छ । विषेश गरी सिंगापुर लगाएतका मुलुकमा यस किसिमको अभ्यास रहेकोले नेपालमा पनि सम्भव रहेको उनको तर्क छ ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवंम पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटकीय पूर्वाधार निर्माणमा सरकारले दिएको प्रतिबद्धतालाई सबैले सहयोग गर्नुपर्ने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सफल बनाउन निजी क्षेत्रको पनि ठूलो भूमिका रहने भएकोले सबैको साथको आवश्यकता रहेको बताउँँदै आफूहरुको तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
ट्रेकिङ एजेन्सीज अफ नेपाल(टान)का महासचिव आङपेम्बा शेर्पाले निर्माणाधीन विमानस्थलहरु सञ्चालन गर्ने प्रतिबद्धताले खुसी ल्याएको बताए ।

नेपालमा पर्यटकहरु भित्र्याउन आवश्यक विमानस्थल नभएकै कारण समस्या भएको बताउँदै भैरहवा र पोखरा विमानस्थल सञ्चालन पछि थप सहज हुने उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २२ घण्टा अब २४ सैं घण्टा सञ्चालनमा ल्याउने, भैरहवामा निर्माण भइरहेको गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्रै सञ्चालनमा ल्याइसक्ने र पोखरामा निर्माण भइरहेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल २०२१ को सुरुमै सञ्चालनमा ल्याउने गरी काम अगाडी बढेको जनाएको छ ।

यसैगरी त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा अगाडी बढाउन आवश्यक कार्य भइरहेको जनाएको छ । साथै आन्तरिक विमानस्थलमा रात्रिकालिन उडानका लागि आवश्यक उपकरण जडान प्रक्रिया अगाडी बढाउने सरकारको तयारी रहेको छ । साथै उपत्यका नजिकै आन्तरिक विमास्थल बनाउने घोषणा गरिएको छ ।