बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्क ५.६१, बिमा १२१.५२, होटल १०.३२, लघुवित्त समूह २०.५५, जलविद्युत् समूह १८.२, विकास बैङ्क २.७२ र व्यापार समूह भने ०.२६ अङ्कले बढेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक केही दिनदेखि निरन्तर घटे पनि बुधबार साढे ८ अङ्कले बढेको छ । कारोबारको अन्तिम समयमा सुधारको गतिमा रहेको नेप्से बन्द हुँदा ८.६५ अङ्कले बढेको हो ।
मङ्गलबार सार्वजनिक बिदाका कारण बन्द रहेको नेप्से बुधबार खुल्दा सामान्य सुधार आएको थियो । त्यो सुधार धेरै समय टिक्न सकेन । कारोबार भएको करिब एक घण्टापछि घट्दो क्रममा देखिएको नेप्से करिब ५ अङ्कसम्मले घटेको थियो ।
तर, कारोबारको अन्तिम समयमा बैङ्क तथा वित्तीय संस्थाको सेयर मूल्यमा सुधार आएपछि नेप्से बढेर बन्द भएको हो ।
सोमबार नेपाल राष्ट्र बैङ्कले ओभरड्राफ्टमा गरेको कडाइले सेयर बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताको विश्लेषण भए पनि बजार सूचकमा सुधार आएको हो । बुधबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेको कारोबार रकम २४ करोडबाट बढेर ३६ करोड रुपैयाँ पुगेको छ ।
कारोबार सुरु हुँदा १३८०.२९ अङ्कमा रहेको नेप्से ८.६५ अङ्कले बढेर १३८८.९४ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि साढे एक अङ्कले बढेको छ । बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्क ५.६१, बिमा १२१.५२, होटल १०.३२, लघुवित्त समूह २०.५५, जलविद्युत् समूह १८.२, विकास बैङ्क २.७२ र व्यापार समूह भने ०.२६ अङ्कले बढेका छन् ।
बुधबार नेप्सेमा १ सय ५५ कम्पनीको ३ हजार ४ सय २२ कारोबारबाट ३८ करोड ६४ लाख रुपैयाँबराबरको ९ लाख ३१ हजार २ सय १६ कित्ता सेयर किनबेच भएको छ ।