हानको अध्यक्षमा सिर्जना राणा, २६ गतेदेखि पदभार सम्हाल्दै

नेपालको पूरानो पहिलो पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक राणा यस अघि हानका उपाध्यक्ष रहेकी थिइन् । ४६ औं साधारण सभाबाट उनीसहित नयाँ कार्यसमिति चयन हुने छन् ।

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान)को अध्यक्ष सिर्जना राणा चुनिने पक्का भएको छ । उनले बैशाख २६ गतेबाट औपचारिक रुपमा अध्यक्ष हुँदै छिन् ।

नेपालको पूरानो पहिलो पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक राणा यसअघि हानका उपाध्यक्ष रहेकी थिइन् । ४६ औं साधारण सभाबाट उनीसहित नयाँ कार्यसमिति चयन हुने छन् ।

हान स्रोतकाअनुसार प्रथम उपाध्यक्षमा हालका महासचिव विनायक शाहको नाम छ । यस्तै महासचिव र अन्यपदमा पनि सर्वसम्मतरुपमा चयन गर्ने तयारी चलिरहेको स्रोतको भनाइ छ ।

हानमा पदाधिकारी चयनमा ठूला होटल र साना होटलले आलोपालो रुपमा नेतृत्व गर्दै आएका छन् । यो पटक चार र पाँच तारे होटलले अध्यक्षको नेतृत्व गर्ने छन् । बर्तमान कार्यसमितिको नेतृत्व साना होटलको तर्फबाट अमरमान शाक्यले गरिरहेका छन् ।

हानको सदस्यमा मनोनितसहित २१ जना नयाँ कार्यसमिति बन्ने छ । हाल ३ सयभन्दा बढी होटलहरु हानमा आवद्ध रहे पनि करिब २ सय होटलका प्रतिनिधिहरुले मात्र भोट हाल्न पाउने छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले तयारी गरिरहेको बेला हानको नयाँ नेतृत्वले थप उत्साह जाग्ने पर्यटन व्यवसायीहरुको विश्वास रहेको छ ।