र्याफ्टिङको विश्व रेकर्ड तोड्न कर्णालीमा प्रतियोगिता हुँदै

कर्णाली नदिमा सबैभन्दा लामो र्याफ्टिङ प्रतियोगिता आयोजनाका लागि नेसनल जियोग्राफी च्यानल र गिनिज बुकसँग सहकार्य गर्न लागिएको छ ।

काठमाडौं । र्याफ्टिङको विश्व रेकर्ड तोड्न कर्णाली नदिमा प्रतियोगिता हुने भएको छ । भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २०७७ सालको कात्तिकमा प्रतियोगिता गर्ने गरी तयारी अगाडि बढाइएको भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिए ।

उनले कर्णाली नदिमा सबैभन्दा लामो र्याफ्टिङ प्रतियोगिता आयोजनाका लागि नेसनल जियोग्राफी च्यानल र गिनिज बुकसँग सहकार्य गर्न लागिएको बताए । नेपालका नदिहरुमा र्याफ्टिङको राम्रो सम्भावना हुँदाहुँदै पनि प्रचारको अभावले ओझेलमा परेको भन्दै त्यसलाई विश्वव्यापी बनाउन लागिएको उनको भनाइ छ ।

त्यसका लागि र्याफ्टिङ एसोसिएनलगायतका विभिन्न सङ्घसस्थाले त्यहाँको सम्भाव्यता अध्ययन गरी रेकी गर्न टोली बनाएर त्यसतर्फ जान लागेको बताए ।

र्याफ्टिङको विश्व रेकर्ड सन् २००६ मा अमेजन नदिमा १ सय १८ माइलको गरिएको थियो । तीन दिन लगाएर सो रेकर्ड राखिएको थियो । नेपाल आउने पर्यटकमध्ये धेरै ट्रेकिङ र एडभेन्चरका लागि आउने गरेका छन् ।