पर्यटन प्रवद्धन गर्न घलेगाउँ महोत्सव

महोत्सवमा गुरुङ समुदायको परम्परागत गुरुङ संस्कृति, घाटु, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रेलगायतका पौराणिक नृत्य प्रस्तुत गरिएको छ । गुरुङ चलचित्रका कलाकार मनोज गुरुङ, निस्ता गुरुङ, प्रिया गुरुङ साथै स्थानीय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए ।

लमजुङ । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव सुरु भएको छ ।

‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव सुरु भएको हो ।

महोत्सवमा गुरुङ समुदायको परम्परागत गुरुङ संस्कृति, घाटु, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रेलगायतका पौराणिक नृत्य प्रस्तुत गरिएको छ । गुरुङ चलचित्रका कलाकार मनोज गुरुङ, निस्ता गुरुङ, प्रिया गुरुङ साथै स्थानीय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए ।

मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी उद्यान, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, पौराणिक भेँडीगोठ, तिजे उत्तरकन्या मन्दिर, नमूना चियाबगान महोत्वसको मुख्य आकर्षण रहेको छ ।

आर्थिक समृद्वि, ग्रामीण गुरुङको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई ‘स्मार्ट भिलेज’का रूपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ लमजुङका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनले भने, ‘ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाई नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई हामी आफ्नो तर्फबाट कार्यान्वयन गर्न चाहन्छौँ । ग्रामीण पर्यटन र होमस्टे (घरबास)को माध्यमबाट घलेगाउँवासीको मात्र नभई सिङ्गो गाउँपालिकाको प्रचारप्रसार, विकास र समृद्विमा हामी लागेका छौँ ।’

मुलुकमा विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएलगत्तै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।

त्यस्तै, विसं २०५६ बाट सुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट घलेगाउँ अहिले नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा अघि बढेको छ । घलेगाउँलाई गत पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गरेका थिए ।

यसको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकार र गाउँपालिकाले केही आर्थिक सहयोग गरेका छन् । स्मार्ट भिलेजको अभियानअन्तर्गत गाउँका १२५ घरधुरीमध्ये ८० प्रतिशत घरमा पुराना छाना हटाएर नयाँ रातो रङ्गको जस्ता छाना लगाएको समितिका सचिव उमलबहादुर विकले बताए । घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको छ ।

विसं २०५७ देखि घलेगाउँ महोत्सवको शुरुआत भएको हो । सोही वर्षबाट होमस्टे कार्यक्रमको समेत सुरुआत भयो । सुरुआतमा १२ होमस्टेबाट अघि बढेको घलेगाउँमा अहिले ३४ घरमा होमस्टे सञ्चालन गरिएको छ । वर्षेनी हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घलेगाउँ पुग्ने गरेका छन् । यस आर्थिक वर्षको साउनदेखि वैशाख १७ गतेसम्म मात्रै आन्तरिक तथा बाह्य पर्यटक गरी २० हजार आएको सो समितिले जनाएको छ ।

बेँसीशहर बजारबाट ३२ किलोमिटर ग्रामीण कच्ची सडक पार गर्दै मोटरमा करीब तीन घण्टामा घलेगाउँ पुग्न सकिन्छ । पैदलबाट भने पाँचदेखि छ घण्टामा पुग्न सकिन्छ । यात्राका क्रममा केही कठिन भएपनि घलेगाउँ पुगेपछि भने स्वर्गको अनुभूति हुने गरेको अधिकांश पर्यकहरु बताउँछन् ।

सो अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले होमस्टे पुराना तरिकाले नचल्ने भन्दै नयाँ प्रविधि र ज्ञान आवश्यकता पर्ने बताए । पर्यटनबाट रोजगारी सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्ने भएकाले चार हजारभन्दा बढी नयाँ फार्ममा गण्डकी सरकारले लगानी गरिरहको उनले बताए ।

गण्डकी प्रदेश सरकारको सन् २०१९ सम्म १५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्री लम्सालको भनाई थियो ।