नेप्सेको वर्गीकरणअनुसार एक सय १० कम्पनी ‘क’ वर्गमा परेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीको वर्गीकरण गरेको छ । नेप्सेको वर्गीकरणअनुसार एक सय १० कम्पनी ‘क’ वर्गमा परेका छन् ।
नेप्सेले चुक्ता पुँजी कम्तीमा २ करोड भएको, साधारण सेयरधनीहरुको सङ्ख्या कम्तीमा एक हजार भएको, कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेस गरेको कम्पनीलाई क वर्गमा राखेको हो । धितोपत्र सूचीकरण विनियमावली २०५३ अनुसार तेकिएका यी सर्त पूरा गर्ने कम्पनीको सङ्ख्या गत वर्षभन्दा एक कम्पनी कम भएको नेप्सेले जनाएको छ ।
नेप्सेले आर्थिक वर्ष २०५३/५४ देखि सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । गत आवमा ‘क’ वर्गमा सूचीकृत कम्पनीको सङ्ख्या १११ थियो । नेप्सेको वर्गीकरणअनुसार वाणिज्य बैङ्क समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत् समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैङ्क समूहबाट २१, माईक्रोफाइनान्स वित्तीय संस्था समूहबाट २६, कम्पनीहरु ‘क’वर्गमा परेका छन् । नेप्सेमा आर्थिक वर्ष २०७४ को अन्तसम्ममा सूचीकृत कुल २०६ कम्पनीहरु थिए । ती कम्पनीमध्ये ११० ओटा सूचीकृत कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकरण गरेको नेप्सेले जनाएको छ ।