भ्रमण वर्षका संयोजक वैद्यले प्रश्न गरे— चिनियाँ पर्यटक चाहिने तर होटलमा च्यानल नराख्ने ?

पर्यटकहरु नेपालमा रमाइलो गर्न आउने भए पनि त्यस किसिमको वातावरण नभएको उनको भनाइ छ । पर्यटकहरुको दोस्रो पाइला होटलमा पर्ने भएकाले ती होटलमा चिनियाँ च्यानल र भाषा बोल्न सक्ने केही कर्मचारी राख्न सके अझ धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउन सकिने उनको ठहर छ ।

काठमाडौं । भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालमा होटल व्यवसायीहरुले चिनियाँ पर्यटकलाई लक्ष्य गरी चिनियाँ च्यानल नराखेकोप्रति असन्तुष्टि जनाएका छन् । नेपालमा पछिल्लो समय चीनबाट धेरै पर्यटक आउने गरे पनि उनीहरुलाई लक्ष्य गरी चिनियाँ च्यानल राख्नेतर्फ ध्यान नदिएको उनीहरूको भनाइ छ ।

अधिकांश चिनियाँलाई अङ्ग्रेजी र हिन्दी भाषा बोल्न नआउने भएका कारण होटलमा बस्दा आफ्नै देशको भाषाको टेलिभिजन हेर्न चाहन्छन् । तर टेलिभिजनमा चिनियाँ भाषासमेत नआउने भएपछि उनीहरु केही निराश हुने गरेको भेटिएको संयोजक वैद्यको भनाइ छ ।

पर्यटकहरु नेपालमा रमाइलो गर्न आउने भए पनि त्यस किसिमको वातावरण नभएको उनको भनाइ छ । पर्यटकहरुको दोस्रो पाइला होटलमा पर्ने भएकाले ती होटलमा चिनियाँ च्यानल र भाषा बोल्न सक्ने केही कर्मचारी राख्न सके अझ धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउन सकिने उनको ठहर छ ।

दिनभर बाहिर घुमघाम गरे पनि राति बास बस्ने बेला चिनियाँ च्यानल हेर्ने व्यवस्था सबै प्रकारका होटलहमा हुन सके उनीहरु थप आकर्षित हुने वैद्यको विश्वास छ । ती च्यानल जाडन गर्न धेरै रकम नलाग्ने भएकाले नेपाल आउने प्रमुख देशका भाषामा सञ्चालित टेलिभिजन च्यानल जडान गर्न होटल व्यवसायीलाई सुझाएका छन् ।

होटल एसोसिएन अफ नेपाल (हान)का महासचिव विनायक शाहले अधिकांश तारे होटलमा चिनियाँ च्यानल जडान भइसकेको बताए । उनले अन्य होटलमा च्यानल जडानका लागि हानका तर्फबाट समन्वय भइरहेको र त्यसमा सहकार्य गरिदिन वैद्यले अनुरोध गरेका छन् ।

चिनियाँ पर्यटक काठमाडौंलगायत बाहिरी सहरमा पनि जाने भएकाले ती सहरमा पनि चिनियाँ च्यानल आउने वातावरण सरकारले मिलाइदिनुपर्ने उनको भनाइ छ । पछिल्लो तथ्याङ्कअनुसार भारतपछि सबैभन्दा बढी चीनबाट नेपालमा पर्यटक आउने गरेका छन् ।