निरन्तर ओरालो लागेको सेयर बजार ओली प्रधानमन्त्री बनेपछि ३६ अङ्कले बढेको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सेयर बजार सूचकमा उछाल आएको छ । निरन्तर ओरालो लागेको सेयर बजार ओली प्रधानमन्त्री बनेपछि ३६ अङ्कले बढेको हो ।
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने अन्तिम दिन बिहीबार ओली प्रधानमन्त्रीको खबरले सेयर लगानीकर्ता उत्साहित भएका हुन् । वामपन्थी सरकारले सेयर बजारमैत्री नीति नलिने भन्दै निरास देखिएका लगानीकर्ता ओली प्रधानमन्त्री भएपछि भने बजारप्रति सकारात्मक भएको देखिन्छ ।
राजनीति घटनाक्रमअनुसार पनि सेयर बजार घटबढ हुने परम्परा कायम नै देखिन्छ । विगतमा पनि सरकार परिवर्तन हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको उतारचढाव आउँथ्यो । यसभन्दा अघि गत जेठ २४ गते बुधबार शेरबहादुर देउवा प्रधामन्त्री बनेको दिन सेयर बजार सूचक १४ अङ्कले घटेको थियो ।
त्योभन्दा अघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ साउन २० गते नेप्से परिसूचक ४५ अङ्कले घटेको थियो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ गुणासम्म बढाउने नीति लिएपछि निरन्तर उकालो लागेको सेयर बजार सूचक २०७३ साउन २ गते हालसम्मकै उच्च अङ्कमा पुगेको थियो । त्यो दिनको भोलिपल्टदेखि घट्न थालेको नेप्से सूचक १३८० सम्म झरेको छ ।
पछिल्लो एक वर्षको अवधिमा सेयर बजार सूचक करिब ४ सय अङ्कसम्मले तल झरेको छ । अर्थतन्त्र तथा राजनीतिक घटनाक्रमसँगै सूचीकृत कम्पनीको अवस्थालाई पनि आधार बनाई लगानी बढाउने र घटाउने निर्णय लिने लगानीकर्ता पछिल्लो समयमा राजनीतिक रुपमा धेरै उतार चढाव आएको देखिन्छ । गत मङ्सिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वामपन्थी राजनीतिक दलको बाहुमत आएपछि पनि सेयर बजारमा लगानीकर्ताको बजारप्रतिको विश्वास कमजोर भएको थियो ।
निरन्तर घटेको बजारमा केपी ओलीले सेयर बजार घट्नु विषयमा चासो देखाए लगत्तै बजार बढेको थियो । त्यसकारणले पनि सेयर लगानीकर्तामा केपी ओली सेयर बजार मैत्री रहेको हुनसक्ने अनुमानका कारण बिहीबार नेप्से सूचक ३६.०१ अङ्कले बढेको हो । बिहीबार बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा दैनिक २४ देखि ३० करोडको हाराहारीमा सेयर कारोबार हुने गरेकोमा बिहीबारको कारोबार रकम समेत ६६ करोडभन्दा धेरै छ ।
बिहीबार कारोबार सुरु हुदाँदेखि निरन्तर बढेको नेप्से बीचमा केही समय बढ्ने क्रममा केही रोकावट आएको थियो । तर, कारोबारको अन्तिम एक घण्टामा सेयर बजार सूचक निरन्तर बढिनै रह्यो । कारोबार सुरु हुदाँ १३८८.९४ अङ्कमा रहेको नेप्से सूचक ३६.०१ अङ्कले बढेर १४२४.९५ अङ्कमा पुगेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ७.७२ अङ्कले बढेको छ ।
बिहीबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि सम्पूर्ण समूहगत सूचक पनि सकारात्मक भएका छन् । नेप्सेमा १६५ कम्पनीका ६ हजार ८ सय ६३ कारोबारबाट ६६ करोड ३९ लाख रुपैयाँ बराबरको १५ लाख ६ हजार ६ सय ३४ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम पछिल्ला दिनहरुको तुलनामा धेरै हो ।