एभरेष्ट इन्स्योरेन्सको नाफा १५७ प्रतिशत बढ्ने प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

गत आर्थिक वर्षमण ४ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा नाफा ६ करोड ४५ लाख रुपैयाँ बढ्ने एभरेष्टको अनुमान छ ।

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेको खुदनाफा चालू आर्थिक वर्षमा १५७ प्रतिशत बढ्ने भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा १० करोड ६३ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ ।

एभरेष्टले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढाउने यस्तै प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा ४ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा नाफा ६ करोड ४५ लाख रुपैयाँ बढ्ने एभरेष्टको अनुमान छ । उसले सेयरधनीलाई दिने लाभांश भने खुलाएको छैन ।

कम्पनीले आर्थिक वर्ष ०७७/०७८ मा नाफा बढाएर २० करोड १८ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा १५ करोड ७५ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ ।

चालू आर्थिक वर्षमा कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । यस्तै आगामी वर्ष २६ करोड २७ लाख र ३ वर्षमा ३३ करोड ६४ लाख रुपैयाँ गर्ने कम्पनीले जनाएको छ । यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ आगामी वर्ष १४ रुपैयाँ र ३ वर्षमा १८ रुपैयाँ पुग्ने अनुमान एभरेष्टको छ ।

चुक्तापुँजी बढाउन एभरेष्टले जेठ १४ गतेदेखि १ बराबर ३ अनुपातमा ८२ करोड १९ लाख ४७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कास गर्ने भएको छ । हकप्रद निष्कासन बन्द असार १६ गते हुने कम्पनीले जनाएको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब ९ करोड ५९ लाख ३० हजार हुने एभरेष्टले वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको पुँजी २७ करोड ३९ लाख ७२ हजार रुपैयाँ छ ।