भ्रमण वर्षमा पर्यटकलाई सरकारको उपहार : भिसा शुल्क वृद्धि, एक वर्ष छुट दिन हानको माग

मन्त्रिपरिषदको निर्णयअनुसार १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको हो । यसअघि २५ डलर थियो । यसैगरी ३० दिनका लागि ५० डलर र ९० दिनका लागि १२५ डलर पुर्याउने मन्त्रिपरिषदले निर्णय गरेको छ । यसअघि ३० दिनका लागि ४० र ९० दिनका लागि एक सय डलर थियो ।

काठमाडौं । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी योजना अगाडि सारेको सरकारले नेपाल घुम्न आउने पर्यटकको भिसा शुल्क बढाएको छ । भ्रमण वर्ष सुरु हुन केही महिना मात्र बाँकी रहेका बेला सरकारले भिसा शुल्क बढाएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको हो । यसअघि २५ डलर थियो । यसैगरी ३० दिनका लागि ५० डलर र ९० दिनका लागि १२५ डलर पुर्याउने मन्त्रिपरिषदले निर्णय गरेको छ । यसअघि ३० दिनका लागि ४० र ९० दिनका लागि एक सय डलर थियो ।

पर्यटकले म्याद थप गर्न चाहेमा प्रतिदिन ३ डलर भिसा शुल्क तिर्नु पर्ने भएको छ । यसअघि म्याद थपमा प्रतिदिनको २ डलर मात्रै थियो । साथै ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा पनि ३० डलर लिने गरी नियमावली परिवर्तन भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अध्यागमन नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाएको जानकारी दिए ।

सरकारले भिसा शुल्क बढाएसँगै पर्यटन व्यवसायीहरु रुष्ट बनेका छन् । भ्रमण वर्षका बेला पर्यटकलाई विषेश छुट दिनुपर्ने बेला उल्टो शुल्क वृद्धि गरेको होटल एसोसिएसन अफ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको भनाइ छ । उनले बढाएको शुल्क तत्काल खारेज गरी कम्तीमा एक वर्षका लागि भिसा शुल्क छुट दिनुपर्ने माग सरकारसँग राखेका छन् ।

हानका तर्फबाट आधिकारिक धारणा राख्दै निवर्तमान अध्यक्ष शाक्यले पर्यटन क्षेत्रमा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा शुल्क बढाएर गम्भीर गल्ती गरेको भन्दै सरकारले ध्यान पुर्याउनु पर्ने बताए । सरकारको पर्यटन नीतिले समस्यामा परेका पर्यटन व्यवसायीलाई भिसा शुल्क वृद्धिले थप असर परेको उनको भनाइ छ ।