पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

गुफाको प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरस्थित सिद्ध गुफा दक्षिण एशियाकै ठूलो भनी दावी गरिएको भए पनि यसको सोचेजति प्रचारप्रसार हुन नसकेको स्थानीयवासी टीकाराम पनेरुको गुनासो छ । 

दमौली । तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् ।

गुफाको प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरस्थित सिद्ध गुफा दक्षिण एशियाकै ठूलो भनी दावी गरिएको भए पनि यसको सोचेजति प्रचारप्रसार हुन नसकेको स्थानीयवासी टीकाराम पनेरुको गुनासो छ ।

उनले भने– “यस गुफालाई दक्षिण एशियाकै ठूलो गुफा दावी गरिएको छ तर, सोचेजति यसको विकास हुन नसक्दा गुफा नै ओझेलमा परेको हो कि भन्ने आभाष हुन थालेको छ ।” नेपालकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरमा अवस्थित यस गुफाको प्रचारप्रसार हुन सके यस ठाउँकै विकास हुने उनी ठान्छन् ।

गुफाको प्रचारप्रसार सोचे जति हुन नसके पनि आन्तरिक तथा बाह्य पर्यटकहरु गुफा अवलोकनका लागि आउने गरेको सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार केही वर्ष अघिसम्म मुश्किलले १५/२० जना पर्यटक गुफा अवलोकनका लागि आउने गरे पनि अहिले दैनिक १०० जति पर्यटक आउने गरेका छन् ।

पृथ्वी राजमार्गको विमलनगरबाट आधा घण्टाको पैदल यात्रामा पुगिने गुफाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्था एवं सरोकारवाला निकाय लागिपरेका छन् । गुफाको प्रचारप्रसारका लागि बन्दीपुर गाउँपालिकाले कार्यपालिकाको बैठकसमेत गुफाभित्र राखिसकेको छ । गुफाको विकासका लागि गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने गाउँपालिका अध्यक्ष पूर्णसिं थापा बताउँछन् । उनले भने – “सिद्ध गुफा बन्दीपुरकै गहना हो, यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाको तर्फबाट जस्तोसुकै सहयोग पनि रहन्छ ।”

गुफाकै प्रचारप्रसारका लागि गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले गुफाभित्र कविता वाचन, रोटर्याक्ट क्लब अफ दमौलीले टेबलटेनिस प्रतियोगिता आयोजना गरेको थियो । गुफामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिए बन्दीपुरको मात्र नभई तनहुँकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने क्लबका अध्यक्ष विपीन श्रेष्ठ बताउँछन् ।

सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।

पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग्कालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।

शुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको पानीको घैंटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्ता सामग्री ईस्वीको १६ र १७ औँ शताब्दी अघिको अनुमान गरिएको छ ।

गुफाभित्र दुई हजारको हाराहारीमा चमेराहरु रहेको सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार गुफाभित्र खुला रुपमै गुफाको अवलोकन गर्न सक्नुका साथै प्रकृति निर्मित विभिन्न आश्र्चयजनक आकृतिहरु देख्न सकिन्छ ।
गुफाभित्र श्रीपेच, पुरातात्विक महत्वको वस्तु, विभिन्न देवी देवताका आकृतिका साथै पानीको छहराले पर्यटक लोभिने गरेका छन् । समितिले गुफाभित्र व्याडमिन्टन, भलिबल, टेबलटेनिस, र्याप्लिङ, जुम्बर, क्लाइम्बिङ्ग जस्ता खेल खेल्न मिल्ने व्यवस्था समेत मिलाएको छ ।

पर्यटककै पर्खाइमा रहेको अर्को गुफा हो तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १२ घडेरीस्थित मिलेनियम गुफा । तनहुँ र स्याङजाको सिमाना हुँदै बगेको साँधी खोलासँगै रहेको गुफाको प्रचारप्रसार हुन सके यस ठाउँकै विकास हुने स्थानीयवासी बताउँछन् ।

एकसय वर्ष अगाडि पत्ता लागेको गुफाको प्रचारप्रसार आवश्यक रहेको स्थानीयवासी बुद्धसिं गुरुङ बताउँछन् । उनले भने – “जति यो गुफाको प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । गुफाको प्रचारप्रचार गरी पर्यटक भित्र्याउन सबैको पहल आवश्यक छ ।”

उनका अनुसार १०० वर्ष अगाडि जङ्गलमा बाख्रा चराउने क्रममा प्वालमा बाख्रा खसेको थियो । केही दिनसम्म पनि बाख्रा कराइरहेको आवाज सुनेपछि गोठालाहरुले नाम्लोको डोरी जोडेर बाख्रा खसेको प्वालमा पसेका थिए । उनले भने – “उनीहरु भित्र पुग्दा फराकिलो स्थान र हजारौँ चमेरा दखेपछि गुफाको पत्ता लागेको किंवदन्ति रहँदै आएको छ ।”

उनका अनुसार पहिला यस गुफालाई चमेरो गुफा भनिथ्यो । विसं २०५७ सालमा पर्यटन र भूगर्भविद्सहितको टोलीले गुफाको अध्ययन गरेपछि मिलेनियम गुफा नामकरण गरिएको थियो । उनले भने – “गुफामा हजारौँको सङ्ख्यामा चमेराहरु भएकाले पुर्खाहरुले चमेरो गुफा भन्ने गरेका रहेछन् ।”

पूर्वाधार अभावले ओझेलमा परेको गुफाको प्रवद्र्धनका लागि अभियान शुरु गरिएको वडाध्यक्ष मनराज गुरुङले बताए । उनका अनुसार मिलेनियम गुफासँगै समग्र फिरफिरेमा पर्यटक भित्र्याउने उद्देश्यले ‘जाउँ है फिरफिरे’ अभियान शुरु गरिएको छ ।

उनले भने – “गुफाको प्रवद्र्धनका लागि चालु वर्षको बजेटमा १० लाख रूपैयाँ विनियोजन गरिएको छ । उक्त बजेट गुफाको प्रवद्र्धन र पुनःनिर्माणमा खर्च गरिनेछ ।” उनका अनुसार गुफाभित्र बिजुली जडान गर्ने योजना छ । फिरेफिरे पुगेका पर्यटकलाई खानपान र मौलिक संस्कृतिमा रम्न घरबास सञ्चालनको समेत तयारी गरिएको छ । पर्यटनको सम्भावना रहेर पनि खानेपानीको अभाव देखिएकाले अहिले पानीको सहज व्यवस्था मिलाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौंडा बजारबाट १५ किमीको दूरीमा घडेरीगाउँ छ । त्यहाँबाट १५ मिनेटको पैदल यात्रा गरेपछि गुफा पुग्न सकिन्छ । जङ्गलको बीचमा रहेको गुफाबाट नजीकै बगेको साँधीखोला र चराचुरुङ्गीको आवाज सुनिन्छ ।

गुफाको प्रवेशद्वार साँघुरो रहे पनि गुफाभित्र फराकिलो ठाउँ छ । गुफाभित्र हजारौंको सङ्ख्यामा चमेरा छन् । यहाँ हात्तीको शिर, विभिन्न देवीदेवताको आकृति देख्न सकिन्छ । गुफाभित्र रहेका दुईवटा झरनाको पानी कहिल्यै घटबढ नहुने स्थानीय शिक्षक नेत्रनारायण गौतमले बताए । उनले भने – “झरनाको पानीमा घटबढ नहुने विशेषताले गुफाको महत्व अझ बढाएको छ । गुफाभित्र जताततै शिवलिङ्ग छन् । यसैले गुफालाई भगवान् शिवको अवतार मानिन्छ ।”

तनहुँको दलेगौँडादेखि स्याङजाको रामबाच्छा जोड्ने नेपालकै पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक अन्र्तगतको आकर्षक गन्तव्यको रुपमा मिलेनियम गुफालाई विकास गर्नुपर्ने स्थानीयवासीको माग छ । गाछेपानीको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, सेती नदीको बहावले बनाएको रक गार्डेन, ढोरबाराही मन्दिर, बाइसे चौबिसै राज्यअन्तर्गतको ऐतिहासिक ढोर दरबार, फिरफिरे, घडेरीगाउँको अवलोकन गर्दै गुफासम्म पुग्न सकिन्छ । ढोर दरबार, फिरफिरे, घडेरीगाउँको अवलोकन गर्दै गुफासम्म पुग्न सकिन्छ ।

सयौं वर्ष अगाडि पत्ता लागेको गुफा डुङडुङा सामुदायिक वनभित्र अवस्थित छ । गुफाको २२० मिटरभित्रसम्म मानिस पुगिसकेका छन् ।

भिमाद नगरपालिका वडा नं ९ का वडाध्यक्ष इमान थापाले गुफाको प्रचारप्रसार र विकासका लागि नगरपालिका नै लागिपरेको जानकारी दिए । उनका अनुसार गुफासम्म पुग्न १० लाखको लागतमा सिँढी र फलामे बार निर्माण गरिएको छ । – कृष्ण न्यौपाने/रासस