शिवमले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ । शिवमको एकै दिन ४५ रुपैयाँ बढेर प्रतिकित्ता ४९७ रुपैयाँ पुगेको छ ।
काठमाडौं । राम्रो नाफा गरेको वित्तीय विवरण प्रकाशित भएपछि लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएका छन् । शिवमको सेयर १० प्रतिशत बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सर्किट ब्रेकर लगाएर रोकेको छ ।
शिवमले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ । शिवमको एकै दिन ४५ रुपैयाँ बढेर प्रतिकित्ता ४९७ रुपैयाँ पुगेको छ । आइतबार शिवमको सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ थियो ।
पछिल्लो समयमा शिवममा लगानीकर्ताको भीड नै लागेको छ । सोमबार शिवमको ११ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिवमपछि प्राइम कमर्शियल बैङ्कको सेयर किनबेच भएको छ । प्राइमको प्रतिकित्ता ३७२ मा ६ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
सोमबार बजार ६.३ अंकले बढेर नेप्से परिसूचक १ हजार ३०१ अंकमा पुगेको छ । सोमबार ७८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर किनबेच भएको छ । व्यापार वित्त, लघुवित्त र बिमाको सेयर मूल्य घटेको छ भने बैङ्क, जलविद्युत्, उत्पादनमूलक क्षेत्रको बढेको छ ।