सरकारले चिनियाँ ठेकेदारलाई भुक्तान गर्नुपर्ने २० करोड रुपैयाँ भुक्तान नगरेपछि ठेकेदारले आइतबार अनिश्चितकालीन काम नगर्ने चेतावनी दिएको थियो । ठेकेदारको चेतावनीपछि सोमबार अर्थमन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको थियो । यो समस्या तत्काल समाधान भए पनि विमानस्थलमा ढुवानी हुनुपर्ने नदीजन्य सामग्रीको ढुवानी रोकिएको छ ।
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा सरकारी निकायबाट नै अवरोध भएको छ । सरकारले कहिले ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन गु्रप कम्पनीलाई भुक्तानी रोकिदिने त कहिले आयोजनाका लागि आवश्यक ढुंगा, गिटी, बालुवा नै उठाउन नमिल्ने गरी निर्णय गरेको छ ।
सरकारले चिनियाँ ठेकेदारलाई भुक्तान गर्नुपर्ने २० करोड रुपैयाँ भुक्तान नगरेपछि ठेकेदारले आइतबार अनिश्चितकालीन काम नगर्ने चेतावनी दिएको थियो । ठेकेदारको चेतावनीपछि सोमबार अर्थमन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको थियो । यो समस्या तत्काल समाधान भए पनि विमानस्थलमा ढुवानी हुनुपर्ने नदीजन्य सामग्रीको ढुवानी रोकिएको छ ।
विमानस्थलमा वैशाखको दोस्रो सातादेखि नदीजन्य सामग्री उपलब्ध नभएपछि निर्माणको काम प्रभावित बनिरहेको छ । स्थानीय तहले सम्झौताअनुसार नदीजन्य सामग्री उपलब्ध नगराएपछि विमानस्थलको काम अपेक्षित रुपमा अघि बढेको छैन ।
सुरुमा सम्झौता गरिएको मूल्य थोरै भएको भन्दै बुटवल उपमहानगरपालिकाले सम्झौताअनुसार सामग्री नदिएपछि विमानस्थलको काम प्रभावित भएको हो ।
आयोजनाले उपमहानगरपालिकासँग १७ हजार २२८ घनमिटर परिमाणको नदीजन्य सामग्री उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौता गरिसकेपछि उपमहानगरपालिकाले सम्झौता रकम न्यून भएको भन्दै नदीबाट गिट्टी, बालवा, रोडा, ढुंगा निकाल्नलाई रोक लगाएको छ ।
सम्झौतापत्रमा प्रतिफुट ६ रुपैयाँ र १३ प्रतिशत भ्याट लाग्ने उल्लेख छ । तर, नगरपालिकाले प्रतिफुट १५ रुपैयाँ र १३ प्रतिशत भ्याट हुनुपर्ने माग राखेर नदीबाट सामग्री निकाल्न दिएको छैन ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आयोजनासँग गरिएको सम्झौता एकदमै न्यून भएकाले नयाँ दररेट कायम गरिएको बताए । ‘मूल्य थोरै भएपछि कार्यपालिकाको बैठकले नयाँ मूल्य निर्धारण गरेको छ,’ उनले भने, ‘सम्झौता पहिला जस्तो भए पनि नयाँ निर्णय नै लागू हुन्छ ।’
अहिले नदीबाट सामग्री निकालेर आयोजनास्थलमा नै जम्मा गर्नुपर्ने समय हो । वर्षाको समयमा नदीबाट सामग्री निकाल्न नमिल्ने भएपछि अहिले नै पछिका लागि पनि स्टोर गर्नुपर्ने भएकाले अहिले र पछिका लागि सामग्री जम्मा गर्नुपर्छ, तर नगरपालिकाको नयाँ मूल्यका कारण विमानस्थल आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एरपोर्ट कन्स्ट्रक्सन गु्रपलाई नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने स्वसाम कन्स्ट्रक्सन प्रालिले नदीबाट सामग्री उठाएको छैन ।
बुटवल तिनाउ खोला किनारबाट १७ हजार २२८ घनमिटरका लागि प्रतिफुट ६ रुपैयाँ र भ्याटसहित गरेर स्वसामले नगरपालिको राजस्व खातामा ३७ लाख जम्मा गरिसकेको जनाएको छ ।
‘सम्झौताअनुसार नै हामीले रकम जम्मा गरिसकेका छौं, फेरि नयाँ मूल्य निर्धारण गरिएको छ, यसले त काम गर्न नै गाह्रो हुन्छ,’ स्वसाम कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुनिलजंग रायमाझीले बताए । ‘विमानस्थलमा सामान चाहियो भनेर चिनियाँ ठेकेदार कम्पनीले ताकेता गरेको छ, यता नगरपालिकाले सामान उठाउन दिँदैन,’ उनले भने । ‘नयाँ मूल्य तिर्नका लागि चिनियाँ ठेकेदार कम्पनीले चीनमा मुख्यालय रहेको कम्पनीलाई जानकारी दिनुपर्छ । त्यसका लागि प्रक्रिया डेढ महिना लाग्छ, अब कसरी काम गर्ने ?’ उनले प्रश्न गरे ।