वसन्त ऋतुका पहिला आठ आरोही सगरमाथाको चुचुरोमा

झन्डै ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो । यससँगै अब अन्य आरोहीका लागि चुचुरो पुग्ने बाटो खुलेको विभागकी निर्देशक आचार्यले जानकारी दिइन् ।

काठमाडौं । मौसम खुलेसँगै वसन्त ऋतुका पहिला आठ आरोही सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् ।

बीबीसी नेपाली सेवाका अनुसार उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै मङ्गलबार दिउँसो पौने दुई बजे ८ हजार ८ सय ४८ मिटर अग्लो शिखरमा पुगेका हुन् ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यलाई उध्दृत गर्दै बीबीसीले सिद्धिबहादुर तामाङ, पासादावा शेर्पा, दर्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, दावा नुर्बु शेर्पा, मिङ दोर्जे शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ ।

झन्डै ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो । यससँगै अब अन्य आरोहीका लागि चुचुरो पुग्ने बाटो खुलेको विभागकी निर्देशक आचार्यले जानकारी दिइन् ।

तिब्बततर्फ रहेको सगरमाथाको उत्तरी मोहडामा भने डोरी टाँग्न बाँकी छ । त्यसतर्फ आइतबार डोरी टाँग्न गएको टोली मौसम अनुकूल नभएको भन्दै फर्केको विवरण प्राप्त भएको छ । मङ्गलबार बिहान पौने दस बजेतिर पाँच शेर्पाको एउटा टोली डोरी टाँग्दै ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमालमा पुगेको थियो । यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो ।

सगरमाथा र ल्होत्से हिमाल जाने बाटो तेस्रो शिविरभन्दा केही माथिसम्म एउटै हो । यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन् ।

वर्षका अन्य दिन प्रतिघण्टा २०० किलोमिटरसम्म हुने चुचुरोको वायुको गति प्रतिघण्टा २०÷३० किलोमिटरमा झर्ने सानो समय पहिल्याएर आरोहीहरू चुचुरोमा पुग्न खोज्छन् ।

अघिपछिभन्दा हिउँ कम परेका बेला आरोहण गर्ने गरिन्छ । सगरमाथा आधार शिविरबाट चुचुरोसम्मको यात्रा सामान्यतया पाँच दिनको हुने हुनाले आरोहीहरूले एक हप्तापहिला नै शिखर पुग्ने दिन तय गरेर अगाडि बढिरहेको अधिकारी एवम् पर्वतारोहण कम्पनीहरूले बताएका छन् ।

लामो समयदेखि मौसमको समीक्षा गरेर तथा विभिन्न देशका मौसम पूर्वानुमान गर्ने निकायहरूको विवरण तुलना गरेर शेर्पा तथा अन्तर्राष्ट्रिय पथप्रदर्शकहरू शिखरतिर जाने उपयुक्त समयको गणना गर्छन् ।

कहिलेकाहीँ अनुकूल दिनहरू थोरै हुने भएकाले आरोहीहरू सकेसम्म अघिल्ला दिनमै चुचुरोमा पुग्ने उद्देश्य राख्छन् ।

पर्यटन विभागका अनुसार शिखरमा पुग्ने सबै आठ आरोही नेपाली हुन् ।

उनीहरूमध्ये पाँच जना सङ्खुवासभा, दुई जना सोलुखुम्बु र एक जना दोलखाका भएको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।