२३ औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पाले राखे विश्व कीर्तिमान

बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगर उनले गत वर्षको रेकर्ड तोडेका हुन् ।

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको २३ औं पटक आरोहण गर्दैै कामिरिता शेर्पाले विश्व कीर्तिमान राखेका छन् । बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगर उनले गत वर्षको रेकर्ड तोडेका हुन् ।

सोलुखुम्बु जिल्लाको थामे घर भएका ४९ वर्षीय शेर्पा गत वर्ष २२ औँ पटक सगरमाथाको आरोहण गरी विश्व रेकर्ड राखेका थिए । उनीसँगै निमा ओङ्दी शेर्पा पनि सगरमाथाको चुचुरोमा पुगेका छन् । आधार शिविरमा रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले उनीहरु दुबैले सगरमाथाको आरोहण गरेको जानकारी दिइन् ।

सन १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् । सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै उनको यो सफलता राष्ट्रकै गौरव भएको बताए ।