१३३ करोडको सेयर कारोबार, लाभांश पाउने आशमा लगानीकर्ता एनसीसी बैङ्कमा झुम्मिए

सेयरमा सामान्य वृद्धि भए पनि बुधबार १ अर्ब ३३ करोड ३ लाख रुपैयाँ बराबरको ४० लाख ४३ हजार १५७ कित्ता सेयर किनबेच भएको छ ।

काठमाडौं । सेयर बजार ५.५ अङ्कले बढेको छ । बजार बढेर बुधबार नेप्से परिसूचक १ हजार ३२१ अङ्कमा पुगेको छ । सेयरमा सामान्य वृद्धि भए पनि बुधबार १ अर्ब ३३ करोड ३ लाख रुपैयाँ बराबरको ४० लाख ४३ हजार १५७ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनसीसीको प्रतिकित्ता २५९ रुपैयाँमा १४ करोड ८२ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । एनसीसीलाई साधारणसभा गरेर सेयरधनीलाई लाभांश दिन उच्च अदालत पाटनले बाटो खुला गरेपछि लगानीकर्ता एनसीसीमा झुम्मिदा सबैभन्दा बढी सेयर कारोबार भएको हो । दुई आर्थिक वर्षको नाफाबाट एनसीसीले सेयरधनीलाई २१ प्रतिशतसम्म बोनस सेयर दिन सक्ने छ ।

एनसीसीपछि नेपाल बैङ्कको कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१६ रुपैयाँमा १३ करोड २४ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार बैङ्क तथा वित्त र व्यापार समूहको सेयर मूल्य बढेको छ भने म्युचुअल फन्ड, बिमा, उत्पादनमूलक जलविद्युत् र होटलको घटेको छ ।

नेपाल कम्युनिटी डेललमेन्ट बैङ्क र विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।