पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

खुला प्रतिस्पर्धाका लागि टेन्डर आह्वान गरिएपछि प्राविधिक र आर्थिक मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गरेपछि होटल आनन्द म्यानेजमेन्टले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको पशुपति तीलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टले पाएको छ । होटलले वार्षिक भाडा एक करोड पाँच लाख ४१ हजार छ सय १८ रुपैंयामा दश वर्षसम्मका लागि पाएको हो ।

खुला प्रतिस्पर्धाका लागि टेन्डर आह्वान गरिएपछि प्राविधिक र आर्थिक मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गरेपछि होटल आनन्द म्यानेजमेन्टले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको हो । तीलगङ्गास्थित १९ रोपनी क्षेत्रफल जग्गामा ८० कोठा भएको उक्त भवनमा सुविधासम्पन्न अटेच ट्वाइलेट बाथरुम, एयरकन्डिसन तथा टीभीसहित सञ्चालन गर्दा करिब ७ करोड खर्च लाग्ने सञ्चालक ओस्कार बतास बताउँछन् ।

उक्त धर्मशाला सञ्चालन गर्दा आउने वार्षिक आम्दानीको कम्तीमा पाँच प्रतिशत रकम सामाजिक सेवामा लगाउनु पर्ने र शुद्ध शाकाहारी भोजन मात्र सर्भ गर्न पाइने तथा मादक पदार्थ बिक्री गर्न नपाइने अनिवार्य शर्त रहेको पशुपति विकास कोषका सदस्यसचिव डा. प्रदीप पौडेलले बताए ।

धर्मशाला सञ्चालनमा आउँदा कम्तीमा १४४ जनालाई रोजगारी दिने सञ्चालक बतासले बताए । सुविधायुक्त सो धर्मशालामा प्रतिव्यक्ति प्रतिकोठा ३५० देखि बढीमा ३९९९ रुपैयाँसम्म शुल्क लाग्ने उनले जानकारी दिए । बतासले करार अवधिभरमा कोषलाई कम्तीमा २१ करोड भाडा भुक्तानी गरिने बताए । उनका अनुसार धर्मशाला आउदोँ दसैंसम्म सञ्चालन हुने छ ।