आफ्नै रेकर्ड तोड्न शनिबार २४औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता शेर्पा

गत मङ्गलबार शेर्पाले २३औं पटक सगरमाथाको शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भङ्ग गरेका थिए ।

काठमाडौं । २३औं पटक सगरमाथाको आरोहण गरी विश्व रेकर्ड तोडेका कामिरिता शेर्पाले पुनः आफ्नै रेकर्ड तोड्न २४औं पटक आरोहण गर्ने भएका छन् । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले आगामी शनिबार कामिरिताले सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए ।

गत मङ्गलबार शेर्पाले २३औं पटक सगरमाथाको शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भङ्ग गरेका थिए ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

कामिरिताले यसअघि पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन् । उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।