आइतबारबाटै तरकारी बिचौलिया हटाउने गरी गृहकार्य गर्दै छौं : महानिर्देशक गौचन

निम्न आर्थिक अवस्था भएका र हुनेखानेभन्दा हुँदा खाने वर्गलाई अहिले बिहानबेलुकीको छाक टार्नै धौधौ छ । त्योमाथि अचाक्ली बजार मूल्यले उनीहरुको जीवनयापन कठिन भइरहेको छ । काठमाडौं उपत्यकाकै कुरा गर्दा, मुख्य तरकारी व्यापार हुने केन्द्र कालिमाटी तरकारी तथा फलफूल बजारमै तरकारीको थोक मूल्य दैनिक बढिरहेको छ ।

काठमाडौं । उपभोक्ताको ढाड सेक्ने गरी तरकारीजन्य वस्तुको मूल्य बढेपछि सरकारले तरकारीका बिचौलिया हटाउन बजारमा हस्तक्षेप गर्ने भएको छ । आम उपभोक्ता मूल्यमा ठगिएको र किसानले मूल्य नपाइरहेकोबारे विभिन्न सञ्चार माध्यमबाट खबर बाहिरिएसँगै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन र बिचौलियाको ‘मोनोपली’ तोड्ने गरी गृहकार्य गरेको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले आइतबारदेखि तरकारीको मूल्यवृद्धिबारे बजार अनुगमन र किसानबाट व्यापारीसँग तरकारी कसरी आउँछ, त्यसबारे अनुगमन र अध्ययन गर्ने बताए । अहिले तरकारी तथा फलफूलजन्य वस्तुको मूल्य अचाक्ली बढ्दा उपभोक्ताको भान्सा महँगिएको छ । न अनुगमन भएको छ, न त मूल्यवृद्धिबारे कुनै विरोध नै । पछिल्लो समय तरकारीको अचाक्ली मूल्यवृद्धिमा बिचौलियाकै चलखेल छ । तर त्यसको प्रभावकारी बजार अनुगमन न सरकारी निकायबाट भएको छ, न त आम उपभोक्तावादीबाट नै । एक त किसानले तरकारीको उचित मूल्य पाएका छैनन् भने अर्कोतिर आम उपभोक्ता बिचौलियाका कारण मूल्यबाट ठगिनुपरेको छ, जसका कारण तरकारी बिचौलिया मोटाइरहेका छन् ।

निम्न आर्थिक अवस्था भएका र हुनेखानेभन्दा हुँदा खाने वर्गलाई अहिले बिहानबेलुकीको छाक टार्नै धौधौ छ । त्योमाथि अचाक्ली बजार मूल्यले उनीहरुको जीवनयापन कठिन भइरहेको छ । काठमाडौं उपत्यकाकै कुरा गर्दा, मुख्य तरकारी व्यापार हुने केन्द्र कालिमाटी तरकारी तथा फलफूल बजारमै तरकारीको थोक मूल्य दैनिक बढिरहेको छ । गत वर्ष यो समयमै अर्थात् २०७५ जेठ ३ गतेको तुलनामा २०७६ जेठ ३ गतेकै तरकारी मूल्य दोब्बरभन्दा बढी पुगेको छ ।

अहिले प्रतिगोटा कागतीको खुद्रा मूल्य २० रुपैयाँसम्म पुगेको छ । गत वर्ष यही समयमा ३८ रुपैयाँ प्रतिकेजीमा पाइने गोलभेंडाको मूल्य अहिले ७८ रुपैयाँ प्रतिकेजी पुगेको छ । जुन दोब्बर हो । त्यस्तै गतवर्षको यसै सिजनमा २५ रुपैयाँमा पाउने काउली अहिले ५८ रुपैयाँ प्रतिकेजी पुगेको छ । गतवर्ष ३५ रुपैयाँमा पाइने बोडीको मूल्य अहिले थोकमै प्रतिकेजी ५२ देखि ५५ रुपैयाँ पुगेको छ । त्यस्तै तीते करेला गत वर्ष यसै समयमा ४२ रुपैयाँमा बिक्री भएकोमा अहिले ८५ रुपैयाँसम्म पुगेको छ ।

यसरी कालिमाटी तरकारी तथा फलफूल विकास समितिको दैनिक तरकारी थोक मूल्य गतवर्ष (२०७५ जेठ ३ गतेको तुलनामा अहिले (२०७६ जेठ २) गते १२० प्रतिशतले तरकारीको वृद्धि भएको देखिन्छ ।

तरकारीको मूल्यमा बिचौलियाको ‘मोनोपली’ अन्त्य नभएसम्म आम किसान र उपभोक्ता सधैं ठगिने निश्चित छ । साँच्चिकै सरकारले बिचौलिया हटाउन चाहने हो भने तरकारी बजारमा हस्तक्षेप र आक्रामक ढङ्गले ‘एक्सन’ लिनैपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।