आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र रमाउन आउन थालेका हुन् ।

हेटौंडा । माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र रमाउन आउन थालेका हुन् । चितवनको सौराहा, मकवानपुरको दामन पालुङ्ग, मकवानपुरगढी, शहीद स्मारक, कष्माण्डा सरोवरलाई लक्ष्य गरेर घुम्न आउने नेपाल तथा भारतका थुप्रै पर्यटक हेटौंडास्थित संरक्षण केन्द्रमा पनि आउन थालेका छन् ।

माछाको उत्पादन गर्ने उद्देश्य लिएको केन्द्रमा पर्यटकको आकर्षण बढ्न थालेपछि पर्यटकीय व्यवस्थापन गरेर दोहोरो फाइदा दिन सकिने देखिएको छ । छिमेकी देश भारतमा माछाको व्यावसायिक उत्पादन देखेपछि नेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर आजभन्दा ५२ वर्षअघि तत्कालीन सरकारले हेटौंडामा व्यावसायिक माछापालन केन्द्र स्थापना गरेको थियो । स्थापना कालमा माछाको उत्पादन र बिक्रीमा मात्र ध्यान दिएको केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रुपमा ह्याचरीमार्फत भुरासमेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो । सङ्घीयता कार्यान्वयनसँगै हाल मत्य विकास केन्द्रबाट प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा परिणत भएको छ ।

यहाँ वर्षमा करोडौं माछाका भुरा उत्पादन र बिक्री हुन्छन् । मौसमअनुसार यहाँका सुन्दर पोखरीमा दुर्लभ प्रजातिका कयौं चरा विचरण गर्न आउने गर्छन् । सारस, चखेवालगायत दर्जनौं प्रजातिका हाँस एवं अन्य चराले भरिभराउ पोखरी अवलोकन गर्न बेलाबेलामा चराप्रेमी यहाँ आउने गर्छन् । त्यसबाहेक विगतमा साँझ बिहान टहलिन आउने स्थानीय तथा आक्कलझुक्कल आन्तरिक पर्यटक पनि देखिन्थे । पछिल्लो केही महिनादेखि भने मत्स्य विकास केन्द्रका पोखरीमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पहिले पहिले पनि यहाँ घुइँचो लागेको र लाम लागेको त देखिन्थ्यो तर त्यो भीड वर्षमा दुई/चार पटक माछा मार्दा माछा किन्न आउनेको हुन्थ्यो तर, आजभोलिको भीड अर्कै हो ।

यहाँको सौन्दर्यले मोहित भएर घुम्न र रमाउन आउनेको भीड बढेको छ अचेल । एकहत्तर बिघा क्षेत्रफल भएको मत्य विकास केन्द्रलाई चिरेर दुई भागमा पारिएको छ । हेटौंडालाई काठमाडौँंसँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्ति राजपथ हो । त्यो चिरा मध्यबाटोको दक्षिणपट्टिको भाग बाटोबाट स्पष्ट देखिन्छ । चार वटा पोखरी भएको त्यो भागले अचेल धेरैलाई आफूतर्फ आकर्षण गर्ने गरेको छ । अझ भर्खरै बनेको सडक र सडकपेटीले त्यो क्षेत्रलाई अति सुन्दर बनाएको छ । हेटौंडा उपमहानगरपालिकाले सडक पेटीमा फूल रोपेपछि त साँच्चै नै मनोरम पार्क झैँ बनेको यो स्थानमा सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सयौं प्रकृतिप्रेमीहरु आउन थालेका छन् ।

“कति आउँछन् यकिन छैन तर, धेरै आउँछन्,” केन्द्रका प्रमुख सानुकाजी पछाईँले भने, “हामी शुल्क लिँदैनौं र आउने जानेको दर्ता वा टिपोट गर्दैनौँ । त्यसैले तथ्याङ्क हामीसंँग छैन ।” मत्स्य विकास र अनुसन्धान मात्र कार्यादेश भएकाले पर्यटनको पाटोको हेक्का नराखेको उनको भनाइ छ । तर, पर्यटकको भीड देख्दा भने व्यवस्थापन गर्न सके दोहोरो उपलब्धि लिन सकिने उनलाई लाग्छ । स्थानीयवासीको भनाइअनुसार यहाँ बिहान र बेलुका गरेर दैनिक ५०० भन्दा बढी स्थानीय तथा आन्तरिक पर्यटक आउने गर्छन् ।

नगरपालिकाले सडक पेटीलाई व्यवस्थित बनाएर आकर्षक फूल रोपेपछि पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको केन्द्रलाई अझ आकर्षक बनाउन आवश्यक सहकार्य गरिने हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत बताउँछन् । हेटौंडालाई फूलै फूलको शहर बनाउने योजनाअनुसार पोखरीको किनारमा रहेको सडक पेटीमा फूल रोपिएका छन् । हेटौंडा नगर नै सुन्दर बनाउने योजनाअनुरुप काम गरिएको उनी बताउँछन् ।

कृषि तथा माछापालन एवं माछाको अनुसन्धान गर्नेहरुका लागि पनि यो केन्द्र आकर्षक बन्दै गएको पाइएको छ । बुटवल घर भई हेटौंडाको जनप्रिय प्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन एनिमल साइन्स’ अध्ययन गर्ने मनीष पौडेलका लागि यो केन्द्र धेरै कुरा सिक्ने ठाउँ बनेको छ । “यहाँ मैले माछाको जीवनचक्रका बारेमा अवलोकन गर्ने र सिक्ने अवसर पाएको छु, विशेषतः माछाको प्रजनन्का चरण सिक्न र व्यावसायिक जीवनमा कसरी उतारिन्छ भन्ने जान्न यहाँ आउने गरेको छु,” उनले भने ।

विसं २०२४ मा स्थापित यो केन्द्र हेटौंडा–५ मा अवस्थित छ । केन्द्रले माछाको अध्ययन, अनुसन्धान तथा उत्पादन समेत गर्ने उद्देश्यले यहाँ साना ठूला ४३ वटा पोखरी निर्माण गरेर माछापाल्ने, भुरा उत्पादन गर्ने र माछामाथि अनुसन्धान गर्ने काम थालेको थियो । वर्षमा कम्तीमा तीन पटक यहाँ माछा निकालिन्छ । तराईको भन्दा चिसो पानी हुने हुँदा यहाँको माछा स्वादिलो भएकै कारण माछा निकाल्ने बेला माछा किन्न अघिल्लै दिनदेखि टोकन लिएर लाम लाग्नुपर्ने हुन्छ । माछाका भुरा पनि देशका थुप्रै स्थानमा लगिने प्राविधिक सहायक अवधेश कुमार सिंह बताउँछन् ।

पचहत्तर बिघा क्षेत्रफलमा फैलिएको केन्द्रले यो वर्ष ६ करोडभन्दा बढी एक दुई दिनका साना (जिराको दाना जत्रो) भुरा ३५ लाख एक इञ्चका भुरा र १५ लाख हातका औंला आकारका भुरा बिक्री वितरण गर्ने लक्ष्य रहेको केन्द्रका मत्स्य विकास अधिकृत भीम पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यो लक्ष्य शुरुका वर्षभन्दा बढी हो तर अब भने समस्या शुरु भएको छ । शुरुमा स्थानीय घट्टे कुलोलाई आधार बनाएर स्थापित केन्द्रलाई हेटौंडा उपमहानगरपालिकामा भइरहेको तीव्र विकास र जनसङ्ख्या वृद्धि र घट्टे कुलोको वरिपरि बनेका घरले यहाँको पानी अनधिकृत रुपमा पाइप जोडेर लगेपछि पानीको स्रोत आधाभन्दा बढी सुकेको छ ।

समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल पनि गरेको तर, समस्या पूर्ण रुपमा समाधान भइनसकेको उनले बताए । ती समस्या समाधान गरेर अगाडि बढ्न सके धेर तिरबाट लाभ लिन सकिने उनको बुझाइ छ ।

ठूलो क्षेत्रफल, आकर्षक भू–बनोट , सुन्दर पोखरीसँगै घना जङ्गलसहितको स–साना पहाडले घेरेको मत्स्य विकास केन्द्र पुग्ने जो कोही पनि आफूलाई केहीबेर यहीँ हराउन चाहन्छ । यसको संरक्षण, सम्बर्द्धन र बहुआयामिक प्रयोगमा जोड दिने हो भने धेरैतिरबाट लाभ लिन सकिने जानकारहरु बताउँछन् । यहाँको जङ्गल कालो र खैरो रङ्गको सालकका लागि प्रसिद्ध छ । यसबाहेक रतुवा, चित्तल तथा सुन गोहोरो जस्ता वन्यजन्तुको बासस्थान समेत रहेकाले मत्स्य विकास केन्द्र रहेको हेटौंडा–५ र सँगैको पिप्लेपोखरा सामुदायिक वन, न्युरेनी सामुदायिक वन र रानी सामुदायिक वन, मकवानपुरगढीको वनक्षेत्र र मनकामना मन्दिरसमेत समेटेर चरा तथा वन्यजन्तुको संरक्षण केन्द्र बनाउन सकिने वन विज्ञान अध्ययन संस्थानका प्रमुख प्रा कृष्णप्रसाद दाहाल बताउँछन् ।

हजारौं किलोमिटरको यात्रा तय गरेर बसाइँ सरेर यहाँ आउने चराको अध्ययन र खोजी गर्न चाहने विश्वभरिका चराविद्का लागि पनि मत्स्य विकास केन्द्र राम्रो गन्तव्य हुनसक्ने हुँदा प्रचारप्रसारमा जोड दिइनु पर्ने दाहालको तर्क छ । – रिपेश दाहाल/रासस