लोकसभा निर्वाचनको प्रभाव : भारतीय पर्यटकको सङ्ख्या घट्यो

जेट एयरवेजले काठमाडौं दिल्ली उडान कटौती गरेपछि पनि पर्यटन क्षेत्रमा ठूलो असर पुर्याएको थियो । पर्यटकीय सिजन सुरु भएसँगै जेट एयरवेजले उडान बन्द गर्नु र निर्वाचन एकै पटक परेका कारण भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहको भनाइ छ ।

काठमाडौं । भारतमा भएको लोकसभाको निर्वाचनको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ । करिब १ महिना लामो निर्वाचनका कारण नेपाल आउने भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

यसअघि जेट एयरवेजले काठमाडौं दिल्ली उडान कटौती गरेपछि पनि पर्यटन क्षेत्रमा ठूलो असर पुर्याएको थियो । पर्यटकीय सिजन सुरु भएसँगै जेट एयरवेजले उडान बन्द गर्नु र निर्वाचन एकै पटक परेका कारण भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहको भनाइ छ ।

गर्मी मौसममा त्यहाँका धेरै विद्यालयमा बिदा हुने भएकाले यो सिजनमा गत वर्ष धेरै भारतीय नेपालमा आएका थिए । तर, यो वर्ष निर्वाचन र जेट एयरवेजले उडान बन्द गरेपछि केही मात्रामा कमी आएको शाहले जानकारी दिए । जेट एयरवेजले उडान बन्द गरेपछि हाल दिल्ली काठमाडौंको टिकट पाउन मुस्किल छ ।

अहिले नेपाल एयरलाइन्सले उडान समय बढाएर दैनिक ३ उडान गर्दै आएको छ । तर, पर्याप्त मात्रामा टिकट नपाउने र ट्राभल एजेन्सीहरुले महँगोमा टिकट बिक्री गर्ने गरेका कारण पर्यटक समस्या परेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

नेपालमा भारतीय पर्यटकलाई लक्ष्य गरी धेरै होटल सञ्चालित छन् । विषेशगरी १ देखि ३ तारेसम्मका होटलमा बढी मात्रामा भारतीय पर्यटक बस्ने गरेका छन् । तीर्थयात्रामा आउने पर्यटकको मुख्य रोजाइमा त्यस्ता होटल पर्नेे गरेको क्राउन प्लाजा होटलका सञ्चालक एवम् हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । हाल ती होटल बढी मात्रामा प्रभावित छन् ।

आइतबार निर्वाचन सकिए पनि मतपरिणाम आउन केही समय लाग्ने भएकाले अझै केही साता उनीहरु घुम्नका लागि बाहिरी देश जान चाहँदैनन् । त्यसैले यो सिजनमा भारतीय पर्यटक कम हुने अवस्था देखिएको होटल सञ्चालक श्रेष्ठको भनाइ छ । उनले गत वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशत पर्यटक घटेको बताए । ‘नेपालबाटै धेरै भारतीय भोट हाल्न गएको अवस्थामा नेपाल आउने कुरै भएन,’ सञ्चालक श्रेष्ठले भने ।

नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गरेका छन् । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ्ग भ्रमणमा आएपछि भारतीय पर्यटक ह्वात्तै बढेका थिए ।