होटल, रेष्टुराँ, भोजनालय, मिठाई पसल, चिया पसल, क्याटरिङ एवं क्यान्टिनलगायतमा खाद्यवस्तुमा स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न वाञ्छनीय भएकाले खाद्य नियमावलीबारे व्यवसायीलाई जानकारी गराइएको उनले बताए ।
तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जिल्लाका होटल, रेष्टुराँ तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी सचेतना प्रदान गरेको छ । जिल्लामा सञ्चालित होटल तथा रेष्टुराँ सञ्चालकलाई उपभोक्ताले स्वच्छ खानेकुरा उपभोग गर्न पाऊँन् भन्ने उद्देश्यले कार्यालयले सचेतना प्रदान गरेको हो ।
डिभिजन प्रमुख शिवजी बरालका अनुसार व्यवसायीलाई बाहिरी परिधि सफा तथा फोहरमुक्त बनाउने, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादीलाई खानेकुराभन्दा टाढा राख्ने, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउँ तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको व्यवस्था गर्ने, ढाकिएका फोहरमैला राख्ने भाँडालाई खानेकुरा तयार गर्ने ठाउँ तथा त्यस परिसरबाट अलग्गै राख्ने पर्याप्त व्यवस्था गर्नुपर्नेलगायतका विषयमा जानकारी गराइएको छ ।
होटल, रेष्टुराँ, भोजनालय, मिठाई पसल, चिया पसल, क्याटरिङ एवं क्यान्टिनलगायतमा खाद्यवस्तुमा स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न वाञ्छनीय भएकाले खाद्य नियमावलीबारे व्यवसायीलाई जानकारी गराइएको उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले स्वच्छ उपभोग्यवस्तु उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार भएकाले व्यवसायीले यसतर्फ सचेत हुनुपर्ने बताए । बाहिरी वातावरण राम्रो बनाउने र भान्छामा ध्यान नदिने प्रवृत्ति व्याप्त रहेकाले उनले भान्छा सफा देखाएर व्यापार गर्ने प्रचलन सुरु गर्नुपर्नेमा जोड दिए ।
क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ र होटल व्यवसायी सङ्घका सचिव दुर्गाविलास भट्टराईले स्वच्छ खाद्यान्न उपयोग गराउनु व्यवसायीको धर्म भएकाले तालीमले व्यवसाय सञ्चालनका लागि थप प्रेरणा दिएको बताए ।
होटल तथा रेष्टुराँको वर्गीकरण
दमौलीमा सञ्चालित नौ होटल तथा रेष्टुराँको वर्गीकरण गरिएको छ । होटल रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुराँको वर्गीकरणका लागि उक्त होटल तथा रेष्टुराँमा स्टिकर टाँस गरेको हो ।
उनका अनुसार होटलको अनुगमन र मूल्याङ्नका आधारमा स्टिकर टाँस गरिएको छ । वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायीले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउने छन् । अतिउत्तम श्रेणीको होटल रेष्टुराँले तीनवटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगोे पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।
त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी ९सन्तोषजनक०को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । रासस