आलुको उत्पादनमा ह्रास

असिनापानीले खन्ने अवस्थाको सबै आलुका बोट कुहिएकाले उत्पादन ५० प्रतिशतले घटेको बाँके हिरमिनियाका कृषक कृपाराम मौर्यले बताए । 

नेपालगञ्ज । गत फागुनमा परेको असिनापानी र प्रतिकूल मौसमका कारण यो वर्ष बाँके जिल्लामा आलुको उत्पादनमा ह्रास आएको छ । असिनापानीले खन्ने अवस्थाको सबै आलुका बोट कुहिएकाले उत्पादन ५० प्रतिशतले घटेको बाँके हिरमिनियाका कृषक कृपाराम मौर्यले बताए ।

कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत शम्भुनाथ योगीका अनुसार असिना पानीका कारण बाँकेमा यो वर्ष ६० प्रतिशत आलुको उत्पादनमा ह्रास आएको छ । जिल्लामा करीब तीन हजार हेक्टरमा आलु खेती हुँदै आएकामा सरदर ३८ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको उनको भनाइ छ ।

यस वर्ष भने प्रतिकूल मौसमका कारण आलु उत्पादनमा ठूलै क्षति किसानले भोग्नुपरेको छ । उत्पादन हुने आलुले माग धान्न नसक्ने अवस्था एकातिर छ भने यो वर्ष उत्पादनमै भएको क्षतिका कारण आलुको आयात बढ्ने निश्चित भएको बागवानी अधिकृत योगीले बताए । रासस