सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै जहाज उडाउन प्रतिबन्ध नलगाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको छ ।
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेले जहाज उडाउन पाउने भएका छन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै जहाज उडाउन प्रतिबन्ध नलगाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको छ ।
क्यानले पाइलट अवालेलाई जहाज उडाउन प्रतिबन्ध लगाएको थियो । त्यसका विरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजालसले जहाज उडान प्रतिबन्ध लगाउनु नपर्ने भन्दै अवालेको पक्षमा फैसला सुनाएका हुन् ।
अवालेलाई विदेशी मुद्रा अपचलनको आरोप लागेपछि क्यानले उडान अनुमति रोकेको थियो ।
क्यानको निर्णयको विरोधमा अवालले लाइसेन्स नै खारेज हुने गरी निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा असोज २२ गते रिट दायर गरेका थिए । उनको रिट उपर असोज २३ मङ्गलबार सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले उडान अनुमति रोक्ने निर्णय, आधार र कारण खुलाउन भन्दै लिखित जवाफ माग गरेको थियो ।
करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । पछिल्लो दुई वर्षदेखि उनी ‘एयरबस ३२०–२००’ सिरिजका जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए ।