१३ जलविद्युत् कम्पनीको ४६५ करोडको सेयर निष्कासन रोकियो, कुन आयोजनाको कति ?

नियमन आयोगमा एक साताअघि मात्र अध्यक्ष र आयुक्तले कार्यभार सम्हालेको, बजेट, कर्मचारी र कार्यालयको अभाव भएको र आयोगले निर्देशिका नबनाएकाले तत्काल आईपीओ निष्कासनको  स्वीकृतिको  सम्भावना देखिँदैन

काठमाडौं । विभिन्न १३ ओटा जलविद्युत कम्पनीको साधारण सेयर र हकप्रद सेयर निष्कासन रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका जलविद्युत कम्पनीले नियामक राष्ट्रिय विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने नयाँ व्यवस्था लागु भएपछि रोकिएको हो ।

नियमन आयोगमा एक साताअघि मात्र अध्यक्ष र आयुक्तले कार्यभार सम्हालेको, बजेट, कर्मचारी र कार्यालयको अभाव भएको र आयोगले निर्देशिका नबनाएकाले तत्काल आईपीओ निष्कासनको  स्वीकृतिको  सम्भावना देखिँदैन ।

बोर्डले नियमन आयोग सञ्चालनमा आइसकेको र सरकारले पनि विद्युत नियमन ऐन र नियमावलीअनुसार आईपीओ र हकप्रद सेयर निष्कासन गर्न पत्राचार गरेकाले सोहीअनुसार निष्कासन रोकिएको जनाएको छ । सूची हेर्न यहाँ क्लिक गर्नुहोस 

बोर्डमा १० ओटाले आईपीओ र ३ ओटाले नयाँ आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएका छन् । १० ओटा जलविद्युत कम्पनीले १ अर्ब ९७ करोड २५ लाख ४६ हजार ५०० रुपैयाँबराबरको १ करोड ९७ लाख २५ हजार ४६५ कित्ता र ३ ओटा कम्पनीले २ अर्ब ६८ करोड करोड ३८ लाख १६ हजार ४४० रुपैयाँबराबरको २ करोड ६८ लाख ३८ हजार १६४ कित्ता हकप्रद सेयर निष्कासन गर्न गर्न बोर्डमा निवेदन दिएका छन् ।

सरकारले पत्राचार गरेको र जलविद्युतको नियमन गर्न बेग्लै आयोग गठन भएकाले निवेदन दिएका सबै कम्पनीले आयोगबाट स्वीकृति लिएपछि मात्र प्रक्रिया अघि बढ्ने बोर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेले बताए । ‘बोर्डबाट स्वीकृति पाइसकेकाले नपर्ने तर आवेदन दिएकाले आयोगको स्वीकृति लिनुपर्नेछ,’ उनले भने ।

विद्युत् उत्पादन, प्रसार, खरिदबिक्री सबैको काम नियमन आयोगले हेर्ने भएकाले उसको स्वीकृति आवश्यक भएको बोर्डले जनाएको छ । नियमन आयोगको ऐन र नियमावलीअनुसार गराउन सरकारबाट पत्राचार भएकाले सेयर निष्कासन गर्न पूर्वस्वीकृति आवश्यक भएको बोर्डले स्पष्ट पारेको छ ।

आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिनेमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, लिबर्टी इनर्जी लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड, सीईडीबी हाइड्रो फन्ड लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड, शिवम् पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड र लाफिङबुद्ध हाइड्रोपावर लिमिटेड छन् ।

अपी पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड र वरुण हाइड्रोपावर लिमिटेडले नयाँ आयोजना बनाउन हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन् ।