एमाले र माओवादी एकताका लागि ७ बुँदे सहमति

नेपालको दुई प्रमुख कम्युनिष्ट पार्टी एक हुने भएका छन् । निर्वाचनअघि पार्टी एकताको एजेण्डा बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्तत पार्टी एकता गर्नका लागि सहमती गरेका छन् ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन् । पार्टी एकताका लागि प्रारम्भिक आधारका रुपमा दुई पार्टीले सात बँुदे सहमति गरेका छन् । नेकपा एमालेकातर्फबाट ५ नेता र माओवादी केन्द्रका तर्फबाट ३ नेताले गरेको हस्ताक्षरसहितको सहमतीमा एकतापछि नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने घोषणा गरेका छन् ।

सहमती पत्रमा पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहने, ‘नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ’, उल्लेख छ ।
त्यस्तै नेकपा (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने दुई पार्टीले सहमति गरेका छन् ।

उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने विषयमा पनि दुई पार्टीविच सहमति भएको छ ।

त्यस्तै गरि सहमतीपत्रमा प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिने र ‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ उल्लेख गरिएको छ ।
पार्टी एकता संयोजन समितिमा एमालेबाट केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

माथी तस्विरमा : ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल । तस्बिर एमाले नेता प्रदिप ज्ञवालीको ट्विटरबाट लिइएको हो ।