सेयर बजार ५ अङ्कले घट्यो, अपर तामाकोसी र हिमालयन डिष्टीलरीको बढी कारोबार

बजार घटे पनि ९३ करोड २६ लाख २४ हजार रुपैयाँ बराबरका २९ लाख ४३ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । बुधबार बढेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ५ अङ्कले घटेको छ । मङ्गलबार बजार ७.४९ प्रतिशत बढेको थियो । बजार घटेर नेप्से परिसूचक १ हजार ३१४ मा झरेको छ ।

बजार घटे पनि ९३ करोड २६ लाख २४ हजार रुपैयाँ बराबरका २९ लाख ४३ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । बिहीबार अपर तामाकोसी हाइड्रोपावर लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । अपर तामाकोसीको सेयर प्रतिकित्ता २८७ रुपैयाँमा १५ करोड ५९ लाख ६४ हजार रुपैयाँको किनबेच भएको छ । तामाकोसीको सेयर मूल्य घटेको छ ।

यस्तै हिमालयन डिष्टिलरीको प्रतिकित्ता १ हजार ८०९ रुपैयाँमा ७ करोड ३ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल, निर्जीवन बिमा र लघुवित्तको सेयर मूल्य बढेको छ भने अन्य परिसूचक घटेका छन् । एनएमबी माइक्रो फाइनान्स लिमिटेड र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।