नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट आङनुरी शेर्पा अमेरिका फर्किए

नेपाल एयरलाइन्सले साना जहाज वाई १२ सञ्चालनका लागि बोलाएका पाइलट शेर्पाले १८ लाख रुपैयाँ तलब मागेका थिए । तर एयरलाइन्सले यति धेरै रकम दिन नसक्ने बताएपछि उनी सोमबार अमेरिका फर्किएका हुन् ।

काठमाडौं । लामो समयदेखि नेपाल एयरलाइन्समा कार्यरत प्रशिक्षक पाइलट आङनुरी शेर्पा अमेरिका फर्किएका छन् । अमेरिकाका स्थायी बासिन्दा बनेका पाइलट शेर्पा केही महिनाअघि नेपाल एयरलाइन्समा फर्किएका थिए ।

नेपाल एयरलाइन्सले साना जहाज वाई १२ सञ्चालनका लागि बोलाएका पाइलट शेर्पाले १८ लाख रुपैयाँ तलब मागेका थिए । तर एयरलाइन्सले यति धेरै रकम दिन नसक्ने बताएपछि उनी सोमबार अमेरिका फर्किएका हुन् । उनी फर्किएसँगै ४ ओटै वाई १२ जहाज ग्राउन्डेड भएका छन् ।

तीन ओटा जहाज प्राविधिक कारण भन्दै केही समय अघिबाट ग्राउन्डेड भएका थिए भने पाइलट शेर्पा अमेरिका गएसँगै अर्को जहाज पनि ग्राउन्डेड भएको हो ।

एयरलाइन्स स्रोतका अनुसार शेर्पाको राजीनामा सोमबार स्वीकृत भएको छ । तलब वृद्धिका लागि पटकपटक व्यवस्थापनलाई अनुरोध गर्दै आएका शेर्पाले तलब वृद्धि हुने अवस्था नदेखेपछि अमेरिकामा फर्किएको उनी निकट पाइलटको भनाइ छ । शेर्पाले चीनबाट २०११ जुलाई ३ मा एनएसीलाई सूचना नदिई पाइलट प्रोफिसियन्सी चेक अर्थात् पीपीसी सर्टिफिकेट प्राप्त गरेपछि अमेरिका गएका थिए ।