बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी

सामुदायिक वनले चार वटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने गर्दछ । वर्षेनी एक हजार क्विन्टलदेखि एक हजार ५०० क्विन्टलसम्म उत्पादन हुने बेत उपभोक्तालाई प्रतिकिलो ४५ मा बिक्री गर्ने गरिएकोे सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए ।

लम्की ।  कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी ५० लाख रूपैयाँ आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो ।

सामुदायिक वनले चार वटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने गर्दछ । वर्षेनी एक हजार क्विन्टलदेखि एक हजार ५०० क्विन्टलसम्म उत्पादन हुने बेत उपभोक्तालाई प्रतिकिलो ४५ मा बिक्री गर्ने गरिएकोे सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए ।

“अन्य व्यापारीलाई प्रतिकिलो ६५ मा बिक्री गर्ने गरेका छौँ । बेतकै आम्दानीले सामुदायिक वन चलेको छ,” उनले भने, “बेतकै आम्दानीले सात वन हेरालु, दुई कार्यालय सहयोगी पाल्नाका साथै सामुदायिक वनले उपभोक्तालाई आयआर्जनका क्षेत्रमा सघाएको छ ।”

बेत उत्पादन हजारौँ क्विन्टल भए पनि नेपालमा ३०० क्विन्टलसम्म खपत हुन्छ, बाँकी सबै भारतलगायत अन्य मुलुकतिर जान्छ ।सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुङ्गानाले नेपाली बजारमा बेतका फर्निचरको खपत बढिरहेको बताए । “बेत फर्निचर उद्योगहरूले माग पूरा गर्न भने सकेका छैनन् । त्यसैले सामुदायिक वनले बेत–बाँस तालीम लिनेलाई निःशुल्क तालीम दिनका लागि सूचना आह्वान गरेको छ । वनले तालीम लिएकालाई व्यवसायका लागि पनि सघाउँछ,” उनले भने ।

बेत काट्दा सामुदायिक वनले उपभोक्तालाई ज्यालादारीमा काममा लगाउने गरेको छ । काटिएको बेत सुकाएर ठेक्कामा बिक्री गर्ने गरिएको छ । उपभोक्ता र स्थानीय व्यवसायीलाई भने वर्षभरि नै उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

“सामुदायिक वनले फागुनदेखि चैत महिनाभित्र बेत कटान गर्छ । त्यो समयमा बेत सुकाउन सजिलो हुन्छ”, अध्यक्ष साउदले भने, “यहाँ उत्पादन भएको बेत नेपाली ठेकेदारले किने पनि भारत, मलेशिया, दुबईलगायत देशमा जाने गरेको छ ।”

सामुदायिक वनको सहयोगमा दुई वर्षअघि बेतबासका फर्निचर निर्माणसम्बन्धी तालीम पाएकी टीकापुरकी सीता चौधरीले टीकापुरमै बेत फर्निचर स्थापना गरेकी छन् । उनले भनिन्, “तालीम पाएपछि मेरा त दिन फेरिए । हाल दैनिक दुई हजारसम्म कमाइ हुने गरेको छ । म बेतका कुर्सी, टेबुल, सोफा, मुडा, पलङ सबै बनाउँछु ।”

सामुदायिक वनले उपभोक्तालाई आयआर्जनका कार्यमा लगाउने उद्देश्यले गतवर्ष सामुदायिक वनका ५० उपभोक्तालाई पाँच लाख रूपैयाँको लागतमा बाख्रा पैँचो कार्यक्रम शुरु गरेको छ । सामुदायिक वनले यहाँ बालबालिकाको छात्रवृत्ति, शैक्षिक सहयोग, कम्प्युटर शिक्षाजस्ता कार्यमा सहयोगसमेत गरिरहेको स्थानीयवासी शारदा तिमिल्सिनाले बताए ।

विसं २०४८ मा स्थानीयवासीले संरक्षण शुरु गरेपछि सामुदायिक वन सत्ती कर्णाली २०५१ मा दर्ता भएको हो । सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल उक्त वनसँग जोडिएका अन्य तीन प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन् । सामुदायिक वनमा एक हजार १०० उपभोक्ता छन् । रासस