प्राकृतिक छटाले भरिपुर्ण हराभरा रारा (फाेटाे फिचर)

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल मुगुमा पर्छ । काठमाडौंबाट ३ सय ७९ किलोमिटर दूरीमा छ यो ताल । काठमाडौंबाट सुर्खेत, दैलेख, कालिकोटको मान्म, जुम्ला हुँदै पुगिन्छ— मिलीचौर । त्यहाँबाट करिब २० मिनेट तल झरेपछि पुग्ने ठाउँ हो, रारा किनार ।

पछिल्लो समय रारा जानेहरुलाई हेर्दा लाग्छ– रारा नपुगे साँच्ची पछि परिन्छ ।

हुन पनि हो, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा पुग्नेहरु भन्छन्, हामी साँच्चै स्वर्ग नै आयौं ।

त्यसैले राराको सौन्दर्य अवलोकन गर्ने धोको धेरै अघि सँगालेका थियांै । तर त्यो सौभाग्य जुर्यो, कात्तिक दोस्रो हप्तातिर । त्यहाँ पुगेपछि हामीलाई पनि लाग्यो, राराले सौन्दर्यको जादूयी पहिरन लगाएको छ, जसलाई देखेर मानिस मोहित मात्र हुँदैनन्, आफैंमा हराउँछन् पनि ।

हामी पनि त हराएकै हौं ।

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल मुगुमा पर्छ । काठमाडौंबाट ३ सय ७९ किलोमिटर दूरीमा छ यो ताल । काठमाडौंबाट सुर्खेत, दैलेख, कालिकोटको मान्म, जुम्ला हुँदै पुगिन्छ— मिलीचौर । त्यहाँबाट करिब २० मिनेट तल झरेपछि पुग्ने ठाउँ हो, रारा किनार ।

५ दशमलव १ किलोमिटर लम्बाइ र २ दशमलव ७ किलोमिटर चौडाइमा फैलिएको राराको विशेषता हो, यसले मौसमअनुसार रङ फेरिरहन्छ । तपाईंले रारालाई पूर्ण रुपमा हेर्न चाहनुहुन्छ भने मुर्माटप पुग्नैपर्छ । तर त्यसका लागि करिब चार घण्टाको उकालो पैदल हिँड्ने हिम्मत भने जुटाउनुपर्छ । हिँड्न सक्नुहुन्न भने त्यसको पनि विकल्प छ— घोडसवार ।

मुर्माटपबाट राराको पूर्ण कद त देखिन्छ नै । सँगै यहाँबाट विभिन्न हिमशृङ्खला, चारकोसे जङ्गलकोपर्यावरणलगायत छिटफुट बस्तीका दृश्यले तपाईंको रारा यात्रालाई स्मरणीय बनाइदिन्छन् ।

यहाँ विदेशी पर्यटक पुग्छन् नै, तिनको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अझ बढी छ । पर्यटकलाई लक्ष्य गरी यहाँ होटल सञ्चालनमा ल्याइएको छ । तर सीमित मात्रामा रहेका होटलका कारण तपाईंले त्यसको बुकिङ पहिल्यै गर्नुपर्छ । होइन भने राराबाट ३० किमि हाराहारीको दूरीमा रहेको गोठीजिउलामा वास बसेर पनि रारा यात्रा गर्न सक्नुहुन्छ ।

 

क्यापिटल बिजनेस म्यागजिनबाट