सगरमाथाको उँचाइ मापन गरेर फर्किएको सरकारी टोलीलाई सम्मान र स्वागत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अबको ६ महिनाभित्र वास्तविक उँचाइ थाहा पाउने बताइन् ।
काठमाडौं । नेपालले विश्वको सर्वोच्च शिखरको उँचाइ पहिलो पटक नापेको छ । तर, उँचाइ थाहा पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ ।
सगरमाथाको उँचाइ मापन गरेर फर्किएको सरकारी टोलीलाई सम्मान र स्वागत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अबको ६ महिनाभित्र वास्तविक उँचाइ थाहा पाउने बताइन् ।
मन्त्री अर्यालले सरकारले पहिलो पटक आफ्नै साधनस्रोतमा सगरमाथाको उँचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको बताइन् । अहिलेसम्म सगरमाथाको उँचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन ।
‘विभिन्न देशले विभिन्न समयमा सगरमाथाको उँचाइ मापन गरेका थिए,’ मन्त्री अर्यालले भनिन्, ‘यसपालि सरकारले आफ्नै स्रोतसाधनले आफ्नै लगानीमा गरेको छ, यो हामी सबैका निम्ति गौरवको कुरा हो ।’
उँचाइ मापन गर्न गएको सरकारी टोली बिहीबार काठमाडौं फर्किएको थियो । नापी विभागको टोली जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।
सगरमाथाको उँचाइ नाप्नका निम्ति नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमनेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । जेठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट मापन कार्य गरेर बिताएको संयोजक गौतमको भनाइ छ ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उँचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उँचाइ मापन कार्य अगाडि बढाएको हो ।
राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको सगरमाथाको उँचाइ मापन कार्यमा परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) एवम् स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको बताइएको छ ।
सगरमाथाको सफल आरोहण भई तथ्याङ्क सङ्कलन भइसकेको र अन्य स्थलगत सर्वेक्षणबाट तथ्याङ्क प्राप्त हुने क्रममा रहेकाले सम्पूर्ण तथ्याङ्क प्राप्त भएपछि तिनलाई प्रशोधन गरी परिशुद्ध उँचाइ विश्वसामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको बताइएको छ ।