विभागले आरोहीको मृत्युको कारण बैज्ञानिक पद्धत्तिबाटमात्रै पहिचान हुने भएकाले आरोहीहरुको मृत्युका विषयमा आफ्ना धारणाहरु सार्वजनिक गर्नुपूर्व बिचार पुर्याउन सबैको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । यस वर्ष हिमाल आरोहणको मौसम सुरु भएयता सगरमाथा तथा अन्य हिमालहरुमा हराउने र मृत्यु हुनेको संख्या १६ जना पुगेको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये ८ जनाको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ ।
विभागका अनुसार हराउनेहरुको खोजीकार्य भइरहेको छ । हराउने तथा मृत्यु हुनेहरुमा विदेशी तथा नेपाली आरोहीहरु, शेर्पा, सरदारलगायतका व्यक्तिहरु रहेका विभागद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ ।
विभागले आरोहीको मृत्युको कारण बैज्ञानिक पद्धत्तिबाटमात्रै पहिचान हुने भएकाले आरोहीहरुको मृत्युका विषयमा आफ्ना धारणाहरु सार्वजनिक गर्नुपूर्व बिचार पुर्याउन सबैको ध्यानाकर्षण गराएको छ ।
विभागले आरोहीको मृत्युको कारण ‘आरोहण मार्गको चाप’ मात्र हो भन्ने धारणा राखी प्रचार गिरिनु दुःखपूर्ण भएको भन्दै यस्ता विषयमा संवेदनशील हुन सबैलाई आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘मिहालहरुको आरोहण आफैँमा साहसिक, जटिल, सम्बेदनशील कार्य भएको हुँदा सचेतता अवलम्वन गर्दागर्दै कतिपय दुःखदायी घटनाहरु हुने गर्दछन् । यस्ता घटनाहरुको न्यूनीकरणका लागि सरकारी, गैरसरकारी साथै निजी व्यक्ति सबैको सामूहिक प्रयास आवश्यक हुने छ ।’
विज्ञप्तीमार्फत विभागले सत्य तथ्य र बास्तविकतालाई मात्र सबैले बाहिर ल्याउन सहयोग गर्न पनि आग्रह गरेको छ ।