सेयर बजार सुधारले मर्चेन्ट बैङ्कर म्युचुअल फन्ड निष्कासन गर्न हौसिए, ५८५ करोडको आउँदै

ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँबराबरका १२ करोड तथा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ८० करोड रुपैयाँबराबरका ८ करोड एकाई म्युचअल फन्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

काठमाडौं । सेयर बजारमा सुधार आउन थालेपछि वाणिज्य बैङ्कका सहायक कम्पनी मर्चेन्टर बैङ्करले धमाधम सामूहिक लगानी कोष (म्युचुअल फन्ड) निष्कासन गर्न थालेका छन् । पाँच ओटा मर्चेन्ट बैङ्करले ५ अर्ब ८५ करोड रुपैयाँबराबरका ५८ करोड ५० लाख एकाई म्युचुअल फन्ड निष्कासनको तयारी गरेका हुन् ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँबराबरका १२ करोड तथा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ८० करोड रुपैयाँबराबरका ८ करोड एकाई म्युचअल फन्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

यस्तै सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब ४० करोड रुपैयाँबराबरका १४ करोड एकाई सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब २५ करोड रुपैयाँबराबरका १२ करोड ५० लाख र एनएमबी क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँबराबरका १२ करोड एकाई एनएमबी ५० म्युचुअल फन्ड निष्कासन गर्न लागेका हुन् । अन्य मर्चेन्ट बैङ्कर पनि म्युचुअल फन्ड निष्कासनका लागि तयारी गरिरहेका छन् ।

गत चैतदेखि सेयर बजारमा सुधार आउन थालेपछि मर्चेन्ट बैङ्करले धमाधम म्युचुअल फन्ड ल्याउने तयारी थालेका हुन् । म्युचुअल फन्डको अधिकांश रकम सेयर बजारमा लगानी हुने भएपछि बजार बढ्दा प्रतिफल बढी र घट्दा कम हुने गर्छ । चैतअघिसम्म अधिकाश म्युचुअल फन्डको खुदसम्पत्ति मूल्य (न्याब) अङ्कित मूल्य १० रुपैयाँभन्दा कम थियो । अहिले बजार बढेपछि माथि जान थालेका हुन् । सेयर बजार घटेका कारण केही मर्चेन्ट बैङ्करले म्युचुअल फन्ड ल्याउन ढिलाइ गरिरहेका थिए ।

तीन ओटा मर्चेन्ट बैङ्करले २ अर्ब ७० करोड रुपैयाँबराबरका २७ करोड एकाइ निष्कासन गरिसकेका छन् । नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले १ अर्ब २० करोड रुपैयाँबराबरका १२ करोड एकाइ निष्कासन गरिसकेको छ । एनआईबीएल एस क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँका ५ करोड एकाई निष्कासन गर्दैछ भने सीबीआईएल क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँबराबरका १० करोड एकाइ निष्कासन भइरहेको छ ।

पछिल्लो समयमा सेयर बजारमा आएको सुधारसँगै म्युचुअल फन्डको न्याब बढेको सीबीआईएलका इन्भेस्टमेन्ट बैङ्किङ् प्रमुख शेखर पौडेल बताउँछन् । उनले सीबीआईले एक वर्षअघि निष्कासन गरेको १ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्डको न्याब ११ रुपैयाँ ६५ पैसा रहेको जानकारी दिए ।

पछिल्लो समयमा सबै मर्चेन्ट बैङ्करको न्याबमा सुधार आएको उनको भनाइ छ ।

सेयर बजार घटेर १ हजार १०० रुपैयाँ पुगेकोमा हाल २०० अङ्क बढेर १ हजार ३०२ को हारहारीमा छ ।