बुद्ध एयरले आजदेखि कोलकाता उडान भर्दै, लगत्तै गुवाहटी पनि उडान गर्ने तयारी

नेपाल र भारतको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको बनारस उडान भर्दै आएको बुद्धले अब बनारसपछि कोलकाता उडान भर्न लागेको जनाएको छ ।

काठमाडौं । बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान भर्दै छ। नेपाल र भारतको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको बनारस उडान भर्दै आएको बुद्धले अब बनारसपछि कोलकाता उडान भर्न लागेको जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भारतमा घुम्नकै लागि जाने नेपालीको संख्या ठूलो रहेको र त्यसलाई लक्षित गरेर कम्पनीले नयाँ गन्तब्यमा उडान गर्न लागेको बताए । उनका अनुसार कम्पनीले कोलकाताको प्रमोशनल फेयर अन्तर्गत दुईतर्फी २२ हजार रुपैयाँ मात्रै राखेको छ।

बुद्धले कोलकात्ता उडान लगत्तै भारतको गुवाहटीमा पनि उडान भने योजना बनाएको प्रवन्ध निर्देशक बस्नेतले बताए । ‘काठमाडौं–गुवाहटी सीधा उडानका लागि प्रकृया सुरु गरिसकेका छौँ । निकट भविष्यमा कम्पनीले साताको तीन दिन कोलकाता, दुई दिन गुवाहटी र दुई दिन वनारस उडान भर्ने गरी योजना बनाएका छौँ ।’ उनले भने ।

एटिआर ७२ मार्फत गर्न लागिएको कोलकाता उडानका लागि अधिकतम ६५ जना यात्रु चढ्न सक्ने क्षमता रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । उडान समय १ घन्टा ३० मिनेटको छ भने साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन उडान भर्ने छ ।