क्यानका महानिर्देशक गौतमको अवकाश, नयाँ डीजीमा पोखरेल कि उपाध्याय ?

गौतमको अनिवार्य अवकाश भएपछि नयाँ महानिर्देशकका लागि पोखरेलसहित अन्य ३ जना पनि प्रतिस्पर्धामा रहेका छन् । १२ औं तहका उपमहानिर्देशकहरु पोखरेल, देवानन्द उपाध्याय, नरेन्द्र थापा र देवेन्द्र केसी पनि महानिर्देशकको दौडमा छन् ।

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमको ४ वर्षे कार्यकाल पूरा भएको छ । गौतमको जेठ १३ गते सोमबारदेखि कार्यकाल पूरा भएको हो । गौतमले जेठ १२ गते नै निमित्तको जिम्मेवारी राजन पोखरेललाई दिएका छन् ।

गौतमको अनिवार्य अवकाश भएपछि नयाँ महानिर्देशकका लागि पोखरेलसहित अन्य ३ जना पनि प्रतिस्पर्धामा रहेका छन् । १२ औं तहका उपमहानिर्देशकहरु पोखरेल, देवानन्द उपाध्याय, नरेन्द्र थापा र देवेन्द्र केसी पनि महानिर्देशकको दौडमा छन् ।

यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री पनि महानिर्देशकको प्रतिस्पर्धामा भएपनि उनले केही दिनअघिमात्र सामाजिक सञ्जालमा आफू कुनै पनि दौडमा नभएको जानकारी गराएका थिए । ६ जना उपमहानिर्देशकमध्ये वीरेन्द्र श्रेष्ठको पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

राजन पोखरेल, देवानन्द उपाध्याय, नरेन्द्र थापा तथा देवेन्द्र केसी एकै समयमा २०७२ असोज १० गते बढुवा भएका थिए । चारजनामध्ये राजन पोखरेल र देवानन्द उपाध्यायबीच महानिर्देशकमा प्रतिस्पर्धा बढी देखिन्छ ।

नेपाली काँग्रेससँग धेरै नजिक रहेका पोखरेलले गौतमको कार्यकालभरि सहयोग गरेका थिए । गौतमले पोखरेललाई नेकपाका महासचिव विष्णु पौडेललाई चिनाएर लबिङसमेत गरिसकेका छन् । प्राधिकरणभित्र काँग्रेसनिकट कर्मचारीहरुलाई साथ लिएर अगाडि बढेका पोखरेललाई अरु उपमहानिर्देशकहरुको साथ भने छैन ।

नेकपानिकट मानिने देवानन्द उपाध्यायलाई महानिर्देशक बनाउन नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नै लागिपरेका छन् । नेकपाको संयुक्त कर्मचारी युनियनहरुको साथ लिएर अगाडि बढेका उपाध्यायलाई महानिर्देशक सञ्जिव गौतमको सुरुदेखि नै साथ थिएन ।

त्यस्तै देवेन्द्र केसीले नेकपाका इश्वर पोखरेल र नरेन्द्र थापाले नेकपाकै हितमान शाक्यमार्फत आफ्नो राजनीतिक लबिङ गरेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्युपछि पर्यटनमन्त्रालयमा नयाँ मन्त्री आएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै पर्यटन मन्त्रालयले हेर्न भएकाले उपमहानिर्देशकहरुले राजनीतिक लबिङ तीव्र पारेका हुन् ।