हर्दवामा कागतीखेती

गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो ।

लमही । प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो ।

प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु भएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । उनले भने, “उक्त गाउँको कृषि क्षेत्रको विकासका लागि किसानलाई कागतीखेती गर्न सिकाउन लागेका हौँ ।”

त्यस क्षेत्रमा कागतीको उत्पादन पनि राम्रो हुने गरेको छ । आर्थिक आम्दानी वृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्बर कुँवरले जानकारी दिए ।

तालीमको प्रशिक्षकमा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसी, वागवानी विकास अधिकृत बालकृष्ण शाह छन् । सांसद शर्माले हर्दवा गाउँमा सिँचाइ सुविधाका लागि बाध बनाउन स्थलगत निरीक्षण गरेका छन् । सो गाउँमा सिँचाइ सुविधा पुर्याउन उनले बजेट व्यवस्था गर्ने बताए । प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा एक एक वटा कृषि गाउँ घोषणा गर्ने जिम्मा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यलाई जिम्मा दिएको थियो । यो सँगै दाङमा छ वटा स्मार्ट कृषि गाउँ घोषणा भएका छन् । रासस