सगरमाथा सरसफाइमा सहभागी शेर्पाको अनुभव : ज्यान जोखिममा राखेर शव ल्यायौं

हिमाल सफाइमा जुटेका शेर्पाहरुले फोहोर सङ्कलनसँगै ४ ओटा शवसमेत निकालेका छन् । लामो समयदेखि हिमालमा रहेका शव निकाल्न धेरै कठिनाइ भएको सफाइमा संलग्नहरुको अनुभव छ ।

काठमाडौं । सन् २००१ बाट हिमालसँग नजिक भएका पासाङ छिरिङ शेर्पाले सगरमाथा हिमालको सफाइ गर्ने जिम्मेवारी पाए । वैशाख १ गतेबाट सफाइ अभियान सुरु गरेका पासाङसहित ८ जना शेर्पाहरु हिमाल तर्फ लागे ।

लामो समयदेखि हिमालमा रहेको फोहोर सङ्कलनमा जुटेको शेर्पाहरुले १० हजार ८ सय २४ किलो फोहोर सङ्कलन गरी नाम्चेमा ल्याइपुर्याएका छन् । त्यसमध्ये ४ हजार किलो फोहोर नेपाली सेनाको हेलिकप्टरमार्फत राजधानी लगिसकिएको छ भने बाँकीलाई व्यवस्थापनको तयारी भइरहेको छ ।

नाम्चेमा रहेको बाँकी फोहोरमध्ये जल्ने र सड्ने फोहोर त्यहीँ राख्ने र अरु राजधानी लैजाने तयारी भएको छ । हिमाल सफाइमा जुटेका शेर्पाहरुले फोहोर सङ्कलनसँगै ४ ओटा शवसमेत निकालेका छन् । लामो समयदेखि हिमालमा रहेका शव निकाल्न धेरै कठिनाइ भएको सफाइमा संलग्नहरुको अनुभव छ ।

शेर्पाहरुले आइसफल एकबाट एक जना, बेसक्याम्प एकबाट एक जना, बेसक्याम्प दुईबाट एक र रसियन नागरिक गरी चार जनाको शव निकालेका थिए । ती शव काठमाडौं लगिएको थियो ।

सफाइ अभियानमा गएका पासाङका अनुसार शव झिक्न र बेस क्याम्पसम्म ल्याउन धेरै कठिन भएको थियो । ‘हामीले ज्यानको माया मारेर शव झिकेर ल्यायौं,’ पासाङले भने, ‘त्यो क्षण सबैभन्दा कठिन र जोखिम थियो ।’ उनी हिमाल नै आफ्नो जीविकोपार्जन गर्ने थलो भएकाले सकेसम्म त्यहाँ रहेका सबै शव र फोहोर सङ्कलन गर्ने लक्ष्य आफूहरुको रहेको बताउँछन् ।

सरकारले स्वामित्व लिएर सफाइ अभियान सुरु गरे पनि शेर्पाहरुको पनि दायित्व जस्तै रहेकाले बढी जिम्मेवार भएर काम गरेको उनीहरुको भनाइ छ ।

लामो समयदेखि सगरमाथामा फोहोर धेरै भएको गुनासो भइरहेका बेला पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घ, नेपाली सेना र खुम्बुपासाङलामु गाउँपालिकाको अगुवाइमा सफाइ अभियान सुरु गरिएको थियो ।

सफाइ अभियानकै अर्का सदस्य पासाङछिरिङ शेर्पाका अनुसार शव ल्याउन कुनै रेस्क्यु गर्ने साधन नभएका कारण ड्रम काटेर ल्याएका थिए । सफाइ गर्ने क्रममा शव देखिएपछि ल्याउनका लागि विकल्पका रुपमा उनले ड्रम प्रयोग गरेका थिए । शवलाई ६ जनाले बोकेर ल्याएका थिए । सफाइका लागि उनीहरु सगरमाथाको साउथ कोलमा ४ दिन बसेका थिए । उनीहरुमध्ये केही शेर्पा अल्टिच्युडका कारण बिरामीसमेत परेका थिए ।