सहकारीमार्फत सामूहिक तरकारी खेती

वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा सय जना स्थानीय सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका हुन् । 

वालिङ । यहाँका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् । वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा सय जना स्थानीय सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका हुन् ।

आठ रोपनी जग्गा पाँच वर्षलाई प्रति रोपनी १० हजारका दरले भाडामा लिएर व्यवसायको थालनी गरेको सहकारीका अध्यक्ष केशबहादुर सिंजालीले बताए । “सहकारीमै आबद्ध २०/२२ जना युवा मिलेर टनेल निर्माण सकेका छौँ”, अध्यक्ष सिंजालीले भने, “अहिले हामीले यही गोलभेँडाको नर्सरी स्थापना गरेका छौँ, बिरुवा उत्पादन भएपछि लगाउन शुरु गर्छौ ।”

बसाइसराइका कारण खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि त्यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने मुख्य उद्देश्यले सामूहिक गोलभेँडा खेतीको थालनी गरिएको उनले बताए ।

“सहकारीमा आबद्ध सदस्यहरु सक्रिय तबरले निरन्तर काम गर्दै आउनुभएको छ,” सहकारीका सचिव दलबहादुर थापाले भने, “समूहमा काम गर्दा ज्ञान, सीपको आदान प्रदान हुने भएकाले पनि यो अभियान प्रभावकारी हुने विश्वास लिएको छु ।”

स्थानीय बाँसको प्रयोगबाट १६ वटा टनेल निर्माण गरिएको छ । सरल थोपा सिँचाइको व्यवस्था, पानीको व्यवस्थापन, हाते ट्रयाक्टर खरीद, ढुवानी तथा ज्याला गरी हालसम्म १० लाख खर्च भएको अध्यक्ष सिंजालीले बताए ।

“जी सेभेन एग्रिकल्चर प्रालि प्राङ्गारिक पाठशाला खुमलटार ललितपुरबाट हामीले आवश्यक तालीम लिएका छौँ”, उनले भने, “त्यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्ने र मौसमी तथा बेमौसमी तरकारी खेतीबाट समूहलाई आर्थिक समृद्धिको पाटोमा अगाडि बढाउने छौँ ।”

टनेलभित्र पहिलो चरणमा गोलभेँडा खेती र टनेलबाहिर अन्य तरकारी बालीहरु लगाउने गरी काम भइरहेको सहकारीले जनाएको छ । “सामूहिक रुपमा थालिएको अभियानसँगसँगै व्यक्तिगत रुपमा पनि आफ्नो जग्गामा तरकारी खेती गर्न चाहनेलाई आवश्यक सहयोग गर्ने नीति सहकारीको छ” सचिव थापाले भने, “जसले गर्दा समूहमा सिकेको सीपलाई व्यक्तिगत रुपमा पनि छुट्टै प्रयोग गर्न सक्ने भएकाले सहकारीमा आबद्ध सदस्यहरु लाभान्वित हुने छन् ।”  रासस