रोल्पाको कोइलाचौर सबस्टेसन सञ्चालन

रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार सबस्टेसनबाट तीन ओटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाउँपालिका, कोइलाचौरजुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बूढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत् आपूर्ति गरिने छ ।

काठमाडौं । रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३÷११ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

रोल्पा र सल्याको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मङ्गलबारबाट सञ्चालन (चार्ज)मा आएको हो ।

रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार सबस्टेसनबाट तीन ओटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाउँपालिका, कोइलाचौरजुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बूढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत् आपूर्ति गरिने छ ।

यसबाट करिब ३० हजार जनता लाभान्वित हुने उनले बताए । दाङको तुलसीपुरबाट करिब २० किलोमिटर लामो ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सबस्टेसनमा विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरण र इष्टइन्डिया÷बाक्ष्बा इन्फ्राटेक जेभीबीच सबस्टेसन निर्माणका लागि ९ करोड ३८ लाख रुपैयाँमा आर्थिक वर्ष २०७१÷०७२मा ठेक्का सम्झौता भएको थियो । ठेक्का ०७२ को असारबाट कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० ओटा ग्रिड र २० ओटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ । चालू आर्थिक वर्षमा झापामा घैलाडुब्बा, सप्तरीको रुपनी, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, बर्दियाको राजापुर तथा कैलालीको हसुलियालगायतका सबस्टेसन सञ्चालनमा आइसकेका छन् ।

चालू आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ ओटा ग्रिड र २० ओटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि सरकारले नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउनेलगायतका काम गरिरहेको छ ।