तेन्जिङ हिलारी अवार्डबाट तीन जनालाई ५० हजार नगदसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा हिमाल आरोहीहरु अस्ट्रेलियन नागरिक एन्थोनी गोर्डन, माया शेर्पा र पर्यटन विभागका लेजर अफिसर ज्ञानेन्द्रकुमार श्रेष्ठ छन् । सोही अवसरमा नेपालमा रहेका आठ हजारभन्दा माथिका आठ ओटा हिमाल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको छ ।
काठमाडौं । बाह्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा कोरियन नागरिक अम होङ गिललाई ‘राष्ट्रिय सगरमाथा अवार्ड’ दिइएको छ । ८ हजारभन्दा बढी उचाइ भएका ८ ओटा हिमाल आरोहण गरेको भन्दै एक लाख रुपैयाँ नगदसहित गिललाई सम्मानपत्र दिइयो ।
गिलले ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये नेपालका आठ ओटै हिमालमा सफल आरोहण गरी विश्वमा नेपाललाई चिनाएको भन्दै अवार्ड दिइएको हो । साथै उनले अम होङ गिल फाउन्डेसनमार्फत नेपालमा १७ ओटा विद्यालय स्थापना गरी समाज सेवालाई पनि अगाडि बढाउँदै गएका छन् । गिलकै सहयोगमा मनाङमा माउन्टेनियरिङ विद्यालय स्थापनाका लागि नेपाल पर्वतारोहण सङ्घ र फाउन्डेसनबीच सम्झौता भएको छ ।
६६ वर्ष अगाडि अर्थात् सन् १९५३ मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली नागरिक तेन्जिङ नार्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले पाइला टेक्न सफल भएका थिए । मे २९ तारिखलाई नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउँदै आएको छ ।
दिवसकै अवसरमा हिलारीका छोरी सेरा हिलारीलाई सम्मान गरिएको छ । एडमन्ड हिलारीकै कारण अहिले विश्वभरबाट सगरमाथा आरोहणका लागि नेपालमा आरोही आउने गरेको भन्दै नेपालको पर्यटन क्षेत्र र पर्वतारोहणसम्बन्धी योगदान अमूल्य रहेको भन्दै सेरालाई सम्मान गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको भनाइ छ ।
सञ्चारमन्त्री बास्कोटाले कोरियन नागरिक होङ गिलका कारण विश्वमा नेपालको हिमालको प्रचार भएको र त्यसले पर्यटन क्षेत्रमा ठूलो योगदान पुगेको बताए ।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा सगरमाथा दिवसको मूल आयोजक समिति गठन गरेको थियो । सरकारले नै सगरमाथा राष्ट्रिय अवार्ड र तेन्जिङ हिलारी अवार्ड वितरण गर्दै आएको छ ।
तेन्जिङ हिलारी अवार्डबाट तीन जनालाई ५० हजार नगदसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा हिमाल आरोहीहरु अस्ट्रेलियन नागरिक एन्थोनी गोर्डन, माया शेर्पा र पर्यटन विभागका लेजर अफिसर ज्ञानेन्द्रकुमार श्रेष्ठ छन् । सोही अवसरमा नेपालमा रहेका आठ हजारभन्दा माथिका आठ ओटा हिमाल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको छ । यस्तै सन् २०१७ मा ४७ दिनपछि रसुवाबाट दुई विदेशीलाई उद्धार गर्ने दावा तामाङ र एकै समयमा तीन ओटा हिमाल आरोहण गर्ने निमा जोङ्बु शेर्पालाई पनि सम्मान गरिएको छ ।
सन् १९५३ देखि हालसम्मको पर्यटन विभागको तथ्याङ्क हेर्दा करिब ६ हजारभन्दा बढी आरोहीले सगरमाथाको शिखरमा चुम्न सफल भएका छन् । सन् १९५३ देखि २०१६ सम्म ५ हजार ३ सय र सन् २०१८ मा ४ सय ४० जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।
पछिल्लो समय हिमाल आरोणका क्रममा मृतकको सङ्ख्या बढिरहेको भन्दै यसप्रति गम्भीर हुन नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । उनले पर्यटन विभागले पर्याप्त तालिम नलिएकाहरुलाई परमिट दिन कडाइ गर्नुपर्ने बताए ।