मनाङमा माउन्टेनियरङ ट्रेनिङ सेन्टर स्थापना हुँदै, एडभान्स तालिम लिएकाले मात्र सहभागी हुन पाउने

नेपालमा रहेका ८ हजार मिटरभन्दा माथिका ८ ओटै हिमालसहित १६ ओटा हिमाल आरोहण गरिसकेका चर्चित दक्षिण कोरियाका आरोही होङ गिलको ‘हुम हुङगेल फाउन्डेसन’द्वारा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिएको हो ।

काठमाडौं । हिमाल आरोहणमा जानेहरुलाई लक्ष्य गरी दक्षिण कोरियाका चर्चित आरोही अम होङ गिलले मनाङमा माउन्टेनियरङ ट्रेनिङ सेन्टर स्थापना गरिदिने भएका छन् ।

नेपालमा रहेका ८ हजार मिटरभन्दा माथिका ८ ओटै हिमालसहित १६ ओटा हिमाल आरोहण गरिसकेका चर्चित दक्षिण कोरियाका आरोही होङ गिलको ‘हुम हुङगेल फाउन्डेसन’द्वारा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिएको हो ।

नेपाल पर्वतारोहण सङ्घ र फाउन्डेसनबीच ट्रेनिङ सेन्टर निर्माणका लागि सम्झौता भएको छ । करिब २० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको सो ट्रेनिङ सेन्टर अबको केही महिनाभित्रै सुरु हुने सङ्घका अध्यक्ष सन्तवीर लामाको भनाइ छ । ट्रेनिङ सेन्टर विद्यार्थी र प्रशिक्षकका लागि आवास गृह, बाल क्लाइम्बिङलगायत अत्याधुनिक प्रविधियुक्त हुनेछ ।

विषेश गरी नेपालीहरुलाई लक्ष्य गरी स्थापना गर्न लागिएको सो ट्रेनिङ सेन्टरमा सहभागी हुन एडभान्स तालिम लिएको हुनुपर्ने छ । ट्रेनिङ सेन्टरमा एक पटकमा ४५ जनाले तालिम लिन सक्ने छन् ।

हाल मनाङमै सोल्भेनियाका आरोहीको सहयोगमा २० वर्षअघि निर्माण गरिएको ट्रेनिङ सेन्टर सानो र पुरानो भएकाले यसलाई पूरै नयाँ संरचनामा निर्माण गर्नेगरी सम्झौता भएको अध्यक्ष लामाले जानकारी दिए । हालसम्म सो ट्रेनिङ सेन्टरबाट करिब ७ सय ६० जनाभन्दा बढीले तालिम लिइसकेका छन् । यस वर्ष सञ्चालन हुने तालिम २० औं पटक हो । पर्वतारोहणको आधारभूत र एडभान्स तालिम सिकाइने उक्त ट्रेनिङ सेन्टर ३८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

मनाङमा दिइने तालिम ६ हजारभन्दा माथिका हिमालको हुने भएकाले पनि त्यहाँ जानुभन्दा अघि नै अन्य साना हिमालमा अनिवार्य रुपमा आरोहण गरेको हुनुपर्ने सङ्घको भनाइ छ ।

मनाङमा दिइने तालिमको शुल्क करिब २ लाख रुपैयाँ छ । तर, सो तालिमको सम्पूर्ण खर्च पर्वतारोहण सङ्घले नै बेहोर्ने छ । सरकारले नेपालका १४ ओटा हिमालको रोयल्टी उठाउने जिम्मा सङ्घलाई दिएको छ ।

सोही रोयल्टीमार्फत आएको रकमबाट माउन्टेनियरङ तालिम दिँदै आएको सङ्घका अध्यक्ष लामाको भनाइ छ ।