८ अर्ब लगानीकाे द लुम्बिनी हब,  साढे ३ वर्षमा सक्ने सीईकाे लक्ष्य

सीईले होटल, अपार्टमेन्ट, रेष्टुरेन्ट, हेल्थ क्लव, मनोरञ्जन र सम्मेलन केन्द्रसहितको वृहत सुविधा सम्पन्न हव लुम्बिनी परियोजनाको काम सुरु गरेको सीईका अध्यक्ष तथा प्रवन्ध निर्देशक (सीएमडी) विजयराज भण्डारीले बताए ।

काठमाडौं । रियलस्टेट, ठुला पुर्वाधार निर्माण र जलविद्युतमा लगानी गरिरहेको सीई कन्ट्रक्सन कम्पनीले वृहत लगानीको नयाँ पर्यटन परियोजना सुरु गरेको छ । सीईले ८ अर्ब रुपैयाँ लगानीमा रुपन्देहीमा हव लुम्बिनी पर्यटन परियोजनाको निर्माण सुरु गरेको हो ।

सीईले होटल, अपार्टमेन्ट, रेष्टुरेन्ट, हेल्थ क्लव, मनोरञ्जन र सम्मेलन केन्द्रसहितको वृहत सुविधा सम्पन्न हव लुम्बिनी परियोजनाको काम सुरु गरेको सीईका अध्यक्ष तथा प्रवन्ध निर्देशक (सीएमडी) विजयराज भण्डारीले बताए । आगामी साताभित्र सरकारबाट स्वीकृति पाएपछि औपचारिक रुपमा लुम्बिनी हवको निर्माण सुरु हुने राजभण्डारीले बताए ।

निर्माणको काम सुरु भइसके पनि सरकारबाट स्वीकृति पाएपछि पुर्णरुपमा काम सुरु हुने उनले जानकारी दिए । हाल परियोजनामा पुग्न सडकको काम सुरु भइसकेको छ । आउँदो साढे ३ वर्षभित्र लुम्बिनी हवको काम सकिने राजभण्डारीले बताए । सीई र अन्य व्यवसायी घरनाको लगानीमा लुम्बिनी हव परियोजना निर्माण हुन लागेको हो । हव लुम्बिनीमा १०० जना व्यवसायीको सहभागिता रहेको छ ।

सीईले लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्न हव बनाउन लागेको उनले स्पष्टपारे । लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको समय लम्बाएर १, २ रात त्यही बस्ने वातावरण हवले बनाउने उनको भनाई छ । लुम्बिनीमा पर्यटन पवद्र्धन गर्न यो परियोजना अघि बढाउन लागेको राजभण्डारीको भनाई छ । परियोजना भैरहवा विमानस्थल भन्दा १३ किलोमिटर र लुम्बिनीबाट २ किलोमिटर टाढा रहेको छ । कम्पनीले ६ विगाहा जग्गा खरिद गरी निर्माण सुरु गर्न लागेको हो ।

अपार्टमेन्टसहित सुविधा रहेको हव लुम्बिनी नेपालमा पहिलो परियोजना भएको राजभण्डारीले सुनाए । सीईले संरचना निर्माण भएपछि सबै बिक्री गरिने र होटलको व्यवस्थापना लिने उनले जानकारी दिए । ‘योजनाको मुल लक्ष्य लुम्बिनीलाई टुरिष्ट हव बनाउने हो‘ उनले भने ‘संरचना बनेपछि यसले लुम्बिनीमा पर्यटन प्रवद्र्धनका लागि ठुलो भुमिका खेल्ने छ’ ।

पहिलो चरणको परियोजना सम्पन्न भएपछि गल्फकोर्सलगायतका सुविधा भएको दोस्रो हव लुम्बिनी पर्यटन परियोजना निर्माण गर्ने तयारी सीईको छ । सीईले आफैले मात्र पुर्ण लगानी नगर्ने र लगानीकर्तालाई समेटेर पुँजी जुटाउने गरी लगानी संरचना तयार पारेको छ ।

कुनै पनि ठुला परियोजना सीईको सानो लगानी हुने तर सबैलाई समेटेर जाने र विभिन्न विजनेस मोडल बनाउने गरेको उनले सुनाए ।
सीईले ठुला अपार्टमेन्ट, व्यक्तिगत, अस्पताल, उद्योगका पुर्वाधार निर्माण गरिरहेको छ ।

ठेकेदार कम्पनीको रुपमा सीईले १११ मेगावाटको निलगिरी जलविद्युत आयोजना, ८६ मेगावाटको सोलुदुधकोसी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । २३.५ मेगावाटको सोलु आयोजनाको काम अन्तिम चरणमा पुगेको सीएमडी भण्डारीले बताए ।

यस्तै सीईले साझेदारीमा ९.५ मेगावाटको माइवेनी र ६.२ मेगावाटको तल्लो जोगमाइ आयोजनाको काम सुरु गर्दै छ । तल्लो जोगमाइ आयोजना बनाउन सीईले बिहीबार एनएमबी बैङ्कसंग ऋण सम्झौता गरेको छ ।