पोखरा जाने पर्यटकको रोजाइमा बोराका घुमाउने घर

जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा (अर्थ व्याग) मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी प्राचीन शैलीका घुमाउने घर निर्माण गरिएको इन्द्रेणी घरबास कार्यक्रम सञ्चालक गोमा ढकालले जानकारी दिइन् ।

पोखरा । बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् ।

जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा (अर्थ व्याग) मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी प्राचीन शैलीका घुमाउने घर निर्माण गरिएको इन्द्रेणी घरबास कार्यक्रम सञ्चालक गोमा ढकालले जानकारी दिइन् ।

उनका अनुसार सानो फलामे रड, काँडेतारबाट निर्मित गोलो आकारको गारो निर्माण गरी बाहिरबाट जाली राखेर परम्परागत रातो माटोले लिप्नुका साथै बाँसको खपेटामाथि खरको छानोले घर बनाइएको हो ।

गर्मीमा न्यानो र चिसो मौसममा तातो हुने (तापअनुकूलित) गोलो आकारको घुमाउने घरमा दुई बेडसहित आवश्यक सम्पूर्ण सुविधा रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार आधुनिक सेवासुविधासहित प्राचीन शैलीका घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । सामान्य घरायसी कच्चा पदार्थको प्रयोग गरी भूकम्परहित नवीनतम् प्रविधिबाट घर निर्माणमा अमेरिकन इञ्जिनीयर लुकासले सहयोग गरेका हुन् ।

एक रातको बास, बिहान–बेलुकाको सादा खाना एवं बिहानको नास्ताको प्याकेजमा स्वदेशीका लागि प्रतिव्यक्ति एक हजार र विदेशीको हकमा भने घरसहित तीन हजार ५०० रुपैयाँ लिने गरेको बताउँदै उनले माछामासु र पेय पदार्थका लागि छुट्टै शुल्क लाग्ने जानकारी दिइन् ।

सञ्चालन भएको एक वर्षको अवधिमा अमेरिका, अष्ट्रेलिया, बेल्जियम, बेलायत, चीनलगायत विभिन्न मुलुकका पर्यटक घरबासमा आउने गरेको बताउँदै उहाँले हालसम्म दुई लाखभन्दा बढी आम्दानी भएको जानकारी बताइन् । घरबासमा आउने आन्तरिक पर्यटक छोटो समय बास बस्ने गरेको भए पनि विदेशी भने एक महीनासम्म बस्ने गरेको अनुभव सुनाउँदै उनले प्राकृतिक सौदर्यतासहित शान्त र रमणीय वातावरणका कारण पर्यटकको बसाइँ लम्बिने गरेको बताए ।

बोराबाट निर्मित चार घरमा आठ र अर्को भान्छासहितको ट्रष्ट भवनमा १६ जना क्षमताको घरबासमा कहिलेकाहीँ त २० जनासम्म पनि बास बसेको बताउँदै उनले घरबासको सम्पूर्ण भौतिक निर्माणमा ५० लाखभन्दा बढी लगानी भएको बताइन्।

घरबास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ उनले सोही स्थानमा खरीद गरिएको १५ रोपनी बाँझो जग्गामा अहिले इन्द्रेणी अर्गानिक तरकारी फार्म सञ्चालन गरेकी छिन् ।

आधुनिक हरितगृहभित्र काँक्रो, धनिया, क्याप्सिकम, अकबरे खुर्सानी, रायोसागलगायतका तरकारी र सामान्य टनेलमा गोलभेँडा उत्पादन गर्दै घरबासमा बस्न आउने पाहुनाले अर्गानिक उत्पादनको स्वाद लिने गरेका छन् । उत्पादित तरकारी लेकसाइडका विभिन्न होटलमा बिक्री गर्दै आएको गोमाले जानकारी दिइन् ।

खेतमा उत्पादित धानको चामल, बारीको तरकारी, खोरका खसीबोका र लोकल कुखुराको मासु स्वाद चखाउँदै आएको बताउँदै उहाँले १० भैँसी पालेर पाहुनालाई शुद्ध दूध खुवाउने व्यवस्था गर्ने तयारी गरिरहेको बताइन् ।

कास्कीकोटको काउलेदेखि टारीसम्म पैmलिएको लगभग पाँच किलोमिटर लम्बाइको अलौकिक एउटै चिप्लेढुङ्गोसहित मनोरम पिप्ले झरना घरबासमा आउने पर्यटकका लागि थप आकर्षण रहेका छन् ।

फेवातालको किनारै किनारबाट खपौदी, भकुण्डे, पामेबजार हुँदै लगभग आठ किलोमिटरको दूरीमा रहेको सो घरबास कार्यक्रमसम्म पुग्नका लागि यातायातकोसमेत व्यवस्था छ ।